विपन्नमाथि नै विपत्ति : अधिकांश पीडित गरिब, कच्ची घरले भुमरी थेग्न सकेनन्


२० चैत्र २०७५, बुधबार
hawahuri in tarai


काठमाडौं, २० चैत । आइतबार साँझको हावाहुरीको केन्द्र फेटाका फैयाज आलम र वमिर रहमद देवान पीडित प्रतिनिधि पात्र मात्रै हुन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी ५५ वर्षीय नजिबुल्ला अन्सारीले फेटाका ३ र ६ नम्बर वडामा उनीहरूजस्ता बेघरबार बनेका पाँच सयभन्दा धेरै छन् । अधिकांश मुस्लिम समुदायका छन् । खेती गर्न उनीहरूको न जमिन छ न गरिखाने कुनै गतिलो पेसा । कतिपयको त बाउबाजेकै पालामा बनाइएको घर थियो । त्यही पनि हुरीले उडाइदियो ।

‘हुरीबाट विस्थापितमध्ये अधिकांश मुस्लिम छन् । सबैको आर्थिक अवस्था कमजोर छ,’ नजिबुल्लाले भने, ‘जीवन गुजारा गर्न कोही गाउँमै मजदुरी गर्छन् । कोही काठमाडौं र पोखरा जान्छन् । त्यहीँबाट आएको पैसाले ओत लाग्ने घर बनाएका थिए । हुरीले उडाएपछि सबै बेघरबार बनेका छन् ।’

फेटा–१ र बाराकै जितपुर कलैया उपमहानगरपालिका–१८ भरवालियाका हावाहुरीपीडितको वास्तविकता पनि उस्तै मार्मिक छ । सीमा जोडिएका दुई वडामा पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । हुरीले घर उडाएर विस्थापित हुने अधिकांश दलित छन्, सबैको आर्थिक अवस्था दयनीय छ । थोरै–थोरै खेत छ, उब्जनीले ६ महिना पनि पेट पालिँदैन, विकल्पमा ज्याला–मजदुरी गर्छन् । तर, भग्नावशेष जगमा घर हाल्न सक्ने हैसियत छैन ।

राहत बाँड्दै गरेको अवस्थामा भेटिएका संघीय समाजवादी फोरम बाराका कार्यबाहक अध्यक्ष अजयकुमार पटेलले भने, ‘विशेषगरी फेटा–१, ३, ६ र ७ तथा कलैया–१८ हुरीबाट सघन रूपमा प्रभावित क्षेत्र हो । यहाँ मात्रै २७ सयभन्दा धेरै प्रभावित भएका छन् । अधिकांशको आर्थिक अवस्था कमजोर छ, दलित र मुसलमान धेरै छन् । उनीहरूसँग खेतीपाती गर्न पर्याप्त जमिन छैन । जीवन गुजारा गर्न ज्याला–मजदुरी गर्छन् ।’  आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

गृह मन्त्रालयको रिपोर्ट : दुई हजार घरमा क्षति, एक हजार भत्किए, अधिकांश पीडित गरिब
विनाशकारी हावाहुरीमा बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ ।

‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७