बाराको वास्तविकता:हल्ला जति छैन राहत, सेल्फी खिच्नेको भिड, एनजिओ आतंक


२० चैत्र २०७५, बुधबार
Bara an parsa hawahuri 1 1

सेना–प्रहरीको भूमिका सबभन्दा प्रशंसनीय

Bara an parsa hawahuri 1 1

आँधी जम्मा तीन मीनेटको थियो ।
त्यही तीन मीनेटको आँधीले बाराको फेटा गाउँपालिकास्थित पुरैनियाटोलका सयौँ बासिन्दाका जिन्दगी र सपनामाथि निर्मम प्रहार भएको छ । आँधीले ध्वस्त भएका घरहरु खोस्रिँदै जाँदा अब त जिवित शरिरको उद्धार हुने आश मारिएको छ । गाउँमा शोकमात्र छैन, भोक छ, र सबभन्दा बढी त अव्यवस्था छ ।

शनिबार साँझको आँधीले खण्डहरमा परिणत गरेको बाराको फेटा, भलुही भरबलियाजस्ता गाउँ अझै तंग्रिएका छैनन् । तर, राहत र उद्धारका नाममा कल्पनासम्म गर्न नसकिने दृश्य देखिएका छन् ।

Jitendra sonal

शनिबार साँझ ७ बजे असिना पानीसँगै शुरु भएको आँधीले गाउँमा रहेका कच्ची भन्ने कुनै घर बाँकी छैनन् । पक्की घर पनि क्षतिग्रस्त छन् । नजिकै रोकेर राखिएका ट्रक, ट्याक्टर, मोटरसाइकलहरु पल्टिएका छन् । गाउँका साइकलहरु त हावाले उडाएर कहाँ पुर्‍यायो, कुनै पत्तो छैन ।

सडकछेउमा ओत लाग्न खोजेका मान्छेहरु हुरीको बेगमा परेर कोही कता, कोही कता पछारिँदै घाइते भएका छन् । त्यस्ता घाइतेमध्ये केहीको उपचारका क्रममा निधन भएको छ । फेटा–१, ३, ६ र ७ तथा कलैया–१८ हुरीबाट अत्यधिक प्रभावित क्षेत्र हो । ती गाउँ दलित र मुसलमान समुदायको बस्ती हो ।

हुरीले सडक दायाँ र बायाँका ४० देखि ५० मिटर क्षेत्रको संरचना ध्वस्त पारेको छ । वीरगन्ज–कलैया सडकलाई भलुही चोकबाट छल्दै हुरी भलुही, भरबलिया, पुरैनिया, गम्हरियातर्फ लागेको थियो । भलुही चोकमा त पक्की घर पनि भत्किएका छन् ।


सकारात्मक पक्ष
हुरी प्रभावित गाउँहरु सदरमुकाम कलैयासँगको सडक सम्बन्धका दृष्टिले सहज हुनुका कारण पनि हुरी रोकिएको पाँच मीनेटभित्रै सेना र प्रहरीको टोली उद्धारका लागि पुगेको थियो । यदि, ती टोली समयमा पुगेर भत्किएका घरबाट घाइतेको उद्धार नगरेको भए मृतकको संख्या अहिलेसम्म सयभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

घटनालगत्तै सरकारी तदारुकताका कारण क्षति न्युन भएको छ । सरकारी संयन्त्रमध्ये पनि नेपाली सेना र नेपाल प्रहरीको सक्रियता प्रशंसनीय देखिन्छ । प्रहरी कर्मचारीहरुले लाइन लागेर रक्तदान गर्नाले थुप्रै गम्भीर घाइतेहरुले पुनर्जीवन पाएका छन् । तर, सेना र प्रहरीको तुलनामा सशस्त्र प्रहरीको सक्रियता कम देखिन्छ ।

नकारात्मक पक्ष

Bara problem Nepal


काठमाडौंका सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बाराको आँधी प्रभावित गाउँको चिन्ता जति गरेको देखिन्छ, यहाँबाट हेर्दा ती चिन्ता, पहल र उद्धारका कामहरु खासै देखिँदैन ।

राहत वितरणलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले राहत संकलन केन्द्र तोकेको छ । हामीजस्ता काठमाडौं बस्दै आएको र घटनालगत्तै आफ्नो जिल्ला फर्किएका बासिन्दाहरु राहत संकलन केन्द्रमा स्वयंसेवीका रुपमा क्रियाशील छौँ ।

आएका राहत तत्काल प्रभावित परिवारसम्म पुर्‍याउने काम ती स्वयंसेवीले गर्दै आएका छन् । त्यसबाहेक सेना, प्रहरी र निजामतितर्फका कर्मचारी पनि उत्तिकै सक्रिय छन् । तर, आँधी प्रभावित परिवारले यथेष्ट राहत पाएका छैनन् । यसको कारण हो, आएका राहतहरु राहत संकलन केन्द्रमा हत्तपत्त पुग्दैनन् । यदि राहत संकलनको स्थिति यस्तै हो भने अबको २४ घण्टाभित्र प्रभावित बस्तीमा भोकमारी शुरु हुने निश्चित छ ।

कहाँ पुग्छ राहत ?

Bara Nepal 1


राहत लिएर आउने अधिकांश एनजिओहरु जहाजबाट सिमरा एयरपोर्टमा ओर्लन्छन् । त्यहाँबाट थोरै दक्षिण लागेपछि जितपुर चोक आउँछ । जितपुर चोकबाट थोरै पूर्व लागेपछि हुरीले प्रभावित गाउँ शुरु हुन्छ । त्यस्ता एनजिओकर्मीहरु कम प्रभावित ती गाउँमा भेटेका मान्छेलाई राहत दिन्छन्, फोटो खिच्छन् र वीरगञ्ज घुम्न जान्छन् वा काठमाडौं नै फर्किन्छन् ।

यस्तो हुँदा वास्तविक प्रभावित परिवारमा राहत पुगेको छैन । राहतका नाममा आएका कम्बलहरु वीरगञ्ज हुँदै भारततर्फ निकासी भइरहेका छन् । जितपुरतिरै केही नक्कली प्रभावित परिवार खडा गरिएका छन् । यस्तो पीडाको बेलामा वास्तविक पीडितकहाँ राहत पुग्न नपाउँदै सकिन्छ ।

प्रशासनले तोकेको राहत संकलन केन्द्रमा केही स्थानीय संघ-संस्था, सरकारी निकाय र राजनीतिक दलले दिएका राहत आएका छन् । बाँकी राहत बाटैमा सकिएका छन् वा राहत ल्याएको नाममा फोटो सेसन गरेर मान्छेहरु फर्किरहेका छन् ।

भकारी रित्तो

Bara Nepal 2

राहत संकलन केन्द्रमा संकलित राहत न्युन हुने र प्रभावित परिवारलाई संकलित राहतले नपुग्ने स्थितिका कारण हुरीले प्रभावित नभएका गाउँका बासिन्दाहरुले आ–आफ्ना भकारीका धान–चामल बाँडे ।

मंगलबार दिउँसोसम्म छिमेकी गाउँका बासिन्दाको सहयोगले प्रभावित गाउँका बासिन्दा बाँचे । तर, अब छिमेकी गाउँका भकारी पनि क्रमशः रित्तिन थालेका छन् ।

फोटोको रहर

Bara ground zero


काठमाडौं वा देशका विभिन्न भागबाट राहतका नाममा प्रभावित गाउँ आएका सबैजसो मानिसलाई प्रभावित परिवार र गाउँको भन्दा आफ्नो फोटोको पहिलो चिन्ता हुने गरेको छ । राहत संकलन केन्द्रमा सरकारी कर्मचारी र हामीजस्ता स्वयंसेवकमात्र हुन्छौँ ।

त्यसैले एक बोरा चामल अगाडि १० जना उभिएर फोटो खिच्ने, कोही पीडितजस्तो देखिने व्यक्तिलाई दिएजस्तो गर्ने र फर्किने लहर छ ।

मंगलबार दिउँसोदेखि त्यस्ता फोटोप्रेमी राहत टोलीलाई निषेध गर्ने भनी छिमेकी गाउँका बासिन्दा सल्लाह गर्दैछन् । त्यस्ता टोली आएपछि राहत संकलन केन्द्र देखाइदिने र संकलन केन्द्रमा राहत नदिएमा ‘नमस्कार’ गरेर फिर्ता पठाउने गरी योजना बनाइएको छ ।

स्थानीय पनि ताल तालका

Bara zero

सेना र प्रहरीहरु असिन–पसिन भएर उद्धारका काममा सक्रिय छन् । तर, जिल्लाकै कतिपय बासिन्दाहरु तिनलाई घेरेर काममा बाधा पुर्‍याइरहेका छन् ।

जिल्ला बाहिरबाट आएका मान्छेहरु उद्धार गरिरहेका सेना प्रहरीलाई ब्याकराउण्डमा राखेर सेल्फी खिच्न व्यस्त देखिन्छन् । मानौँ, यो आँधी प्रभावित गाउँ नभएर कुनै सुटिङस्पट वा मनोरञ्जन पार्कजस्तो ठानिरहेका छन्, सेल्फी खिच्नेहरुले ।


सरकारी तदारुकता
राहत र उद्धारका क्रममा सबभन्दा प्रसंसनीय भूमिका केन्द्र सरकारको छ । उसले सम्पूर्ण जनशक्ति बारामा परिचालित गरेको छ । स्वयं प्रधानमन्त्री प्रभावित बस्तीमा पुग्नाले संघीय सरकार प्रति स्थनीयको विश्वास बढेको छ ।

Madhesh Bara

राहत संकलन केन्द्रमा आइपुगेका जति पनि राहत सामग्री छन्, ती सरकारी पहलका कारण आएको हो । यदि त्यस्तो पहलमा कमी भएको भए राहत संकलन केन्द्र बन्द गरे पनि हुने स्थिति थियो । प्रदेश सरकार र स्थानीय तहहरुले आफूसँग भएका सम्पूर्ण स्रोत र साधन खर्चिएका छन् ।


bara parsa storm nepal



समस्यामा महिला–बालबालिका

नवजात शिशु र सुत्केरी महिलाहरुको सबभन्दा बढी बिजोग छ । महिनाबारी भएका महिलाले रक्त निरोधक उपचार पाएका छैनन् । एक झुत्रो टालो पनि नपाएका कारण छिमेकी गाउँका महिलाहरुले आफ्नो आङको कपडा च्यातेर दिने गरेका छन् ।

काठमाडौंका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्यानेटरी प्याडका बोराहरु देखाएर बारा पठाएको भनी प्रचार गर्दैछन् । हामी प्रभावित गाउँमै छौँ । तर, त्यस्ता प्याड अहिलेसम्म देख्न पाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७