देउवाको दुःखेसो, ‘म ओली सरकारको खिलापमा हुन्छु, हाम्रो साथीहरु मेरो खिलापमा लाग्छन्’


२० चैत्र २०७५, बुधबार
Deuba

घोराही, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बिरुद्ध लड्नका लागि पार्टीभित्रबाटै साथ नपाएको गुनासो गरेका छन् । पार्टीभित्रै आफ्नो बिरोध भईरहेको भन्दै उनले दुखेसो पोखे ।

Deuba

नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा देउवाले भने ‘म ओली सरकारको खिलापमा हुन्छ। तर, हाम्रा साथीहरु मेरो खिलापमा लाग्छन् ।’

सरकारले एक वर्षमा कुनै उपलब्धीमूलक काम गर्न नसकेको सभापति देउवाको आरोप थियो । ‘सरकारले विकास र समृद्धिका ठूला कुरा गरे पनि एक वर्षको अवधिमा केही काम गर्न सकेको छैन,’ उनले भने ।

देउवाले वर्तमान सरकारले अप्रजातान्त्रिक ढंगबाट अगाडि बढ्न खोजिरहेको बताए। उनले भने,‘लुट कान्छा लुट गीतमाथि प्रतिबन्ध लगाउने,मिडियामाथि पनि नियन्त्रण गर्न सरकारले खोजिरहेको छ। सरकार अब मिडियासँग पनि डराउन थालेको छ।

अर्काे प्रसंगमा उनले संसदमा कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्ने गुनासो सुन्नमा आएकोमा आपत्ति जनाए । रेलिङ भाँच्ने र तोडफोड गर्ने प्रतिपक्षको काम नभएको उनले बताए । ‘हामीले प्रतिपक्षका रुपमा सशक्त रुपमा कुरा उठाएका छौँ,’ उनले भने, ‘तर रेलिङ भाँच्ने काम गरेका छैनौं ।’

सभापति देउवा विरुद्ध जिल्ला सभापतिहरु
उता घोराहीमा देउवाले यो गुनासो गरीरहेका बेला जिल्ला सभापतिहरु काठमाडौंमा जारी छ । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि असन्तुष्ट जिल्ला सभापतिहरु नयाँ रणनीति बनाउँन काठमाडौंमा जुटेका छन् । बुधबारदेखि काठमाडौंमा सभापतिहरुको बैठक सुरु भएको हो ।

काठमाडौंको ठमेलस्थित एक होटलमा जारी बैठकमा ४३ जिल्लाका सभापतिहरु सहभागी छन्, भने बाँकी ७ जिल्लाका सभपतिहरु बुधबार साँझसम्म आइपुग्ने बताइएको छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरु मात्रै सहभागी छन् ।

भेलामा संस्थापन पक्षीय जिल्ला सभापतिहरुलाई पनि बोलाइएको थियो । तर, उनीहरु उपस्थित भएका छैनन् । भेलामा पार्टी्भित्र रहेका आन्तरिक समस्याका विषयमा छलफल भइरहेको काठमाडौं सभापति सवुज बानियाले जानकारी दिए । पार्टीलाई थप व्यबस्थित बनाउनका निम्ती भेलामा छलफल भइरहेको उनको भनाई छ ।

के हो असन्तुष्टी ?
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।

बैठकमा सहमति हुन नसकेपछि महासमितिकै बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्गयाएका थिए । तर गत फागुन १२ गते सभापति देउवाले बहुमतीय प्रक्रिया अपनाएर महासमितिको म्याण्डेड विपरित विधान पारित गरेपछि जिल्ला सभापतिहरु रुष्ट छन् । केन्द्रीय समितिले केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गरेको छ ।

जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए ।

महासमितिमा राखेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकले उल्टाएपछि असन्तुष्ट जिल्ला सभापतिहरुले फागनु २१ गते विज्ञप्ति जारी गरेर निर्णयमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने चेतावनी पनि दिएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय नसच्याए विषेश महाधिवेशन बोलाउन पनि माग गरेका थिए । तर, निर्ण नसच्चिएपछि यो बैठकको आयोजना भएको हो ।

के गर्छ भेलाले ?
सभापति र नेताको प्रतिवद्धतालाई केन्द्रीय समितिमा बहुमतले लत्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएपछि भेलाको आयोजना गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंहले बताए । महासमिति बैठकको निर्णय अनुसार चल्न नेतृत्वलाई दबाब दिइने उनको भनाई छ ।

पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था जसरी पनि खारेज गराएरै छोड्ने उनको भनाई छ । यदि त्यसो नभई विशेष महाधिवेशनको माग गरिने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७