अरबौं ठगीका आरोपी सुधिर बस्नेत फेरि पक्राउ


२० चैत्र २०७५, बुधबार
Sudhir Busnet

काठमाडौं, २० चैत : ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर,काठमाडौंको टोलीले बस्नेतलाई बुधबार भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोप छ।

Sudhir Busnet

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई पक्राउ गरिएको बताए । २०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको आरोप छ। ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । सरकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।

सरकारले मुलुकका समस्याग्रस्त सहकारी संस्थाबारे  छानविन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाचबुझ समितिसमेत गठन गरेको थियो ।

यसअघि उनी १० अर्ब ठगीको आरोपमा जेल परेका थिए । अदालतले तोकेको जेल सजाय भुक्तान गरेपछि तोकिएको जरिमाना तिरेर उनी १० महिना अघि छुटेका थिए । ओरेन्टल सहकारी, कोहिनुर हिल हाउजिङ, आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिमाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिमानाको फैसला सुनाएको थियो । यस्तै, भक्तपुरले पनि दुई वर्ष कैद र ८४ हजार ६४८ रुपैयाँ जरिमाना असुल हुने फैसला सुनाएको थियो ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७