प्रधानाध्यापकले विद्यार्थीलाई घरका लागि सालको पात टिप्न जंगल पठाएपछि…


२१ चैत्र २०७५, बिहीबार
yasoda shresha

प्युठान, २० चैत । प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा सागर रिजालले समाचार लेखेका छन् ।

पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ ।

गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो ।

त्यसको अघिल्लो दिन २७ फागुनमा श्रेष्ठले विद्यालयमा फोन गरिन् र विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनिन् ।

फोनमा श्रेष्ठले बाहुन, क्षेत्रीका छोराछोरीलाई मात्र पठाउनू, दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् ।

२८ फागुनमा विद्यालयबाट आधा घन्टाभन्दा टाढा रहेको प्रधानाध्यापकको घरमा गैरदलित विद्यार्थी पात लिएर पुगे । उनीहरूलाई घरमै पितृप्रसाद दिइयो । सोही दिन प्रधानाध्यापक श्रेष्ठले स्कुल पुगेर दलित विद्यार्थीलाई पनि पितृप्रसाद बाँडिन् ।

त्यसपछि यस घटनाबारे चर्चा सुरु भयो । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेको बताए । केही दिन गाउँमै यसबारे छलफल भयो ।

अन्ततः गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७