दिल्लीलाई हैदरावादले ५ विकेटले हरायो, उक्लियो शिर्षस्थानमा


२२ चैत्र २०७५, शुक्रबार
IPl srhvsdc 2

काठमाडौं, २१ चैत । इण्डियन प्रिमियर लिग(आइपिएल)मा सनराइज हैदरावादले दिल्ली क्यापिटललाई ५ विकेटले हराएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा मैदानमा भएको खेलमा दिल्लीले दिएको १३० रनको लक्ष्य १८.३ ओभरमा पुरा गर्दे हराएको हो ।

हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा आउट भए । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले समान १० रन जोडे । मोहम्मद नाबी १७ र युसुफ पठान ९ रनमा अविजित रहे ।

दिल्लीका लागि सन्दीप लामिछाने,अक्षर पटेल, ईशान्त शर्मा, कागीसो रबाडा र राहुल टेवाटियाले समान १ विकेट लिए । सन्दीपले ४ ओभरमा ३२ रन खर्चेका थिए ।

त्यस अघि घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

ओपनर पृथ्वी शालाई तेस्रो ओभरको दोस्रो बलमा भुवनेश्वर कुमारले ११ रनमा बोल्ड आउट गरे । अर्का ओपनर शिखर धवनलाई छैटौं ओभरको अन्तिम बलमा मोहम्मोद नाबीले १२ रनमा सन्दीप शर्माबाट क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।

दिल्लीको एकतर्फबाट निरन्तर विकेट गुम्दा अर्को तफबाट रन जोड्न खोजि रहेका कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटिएको हो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५,कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।

हैदरावादका मोहम्मद नाबीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २ तथा राशिद खान र सन्दीप शर्माको नाममा एक विकेट रह्यो ।

यो सँगै हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । किंग्स इलाभेन पन्जाव र चेन्नई सुपर किंग्स क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । चेन्नई र पन्जावले समान ४ खेलमा ३ मा जित र १ मा हार ब्योहोरेका छन् ।


सन्दीपले लिए तेस्रो खेलमा पनि विकेट

दोस्रो सिजन आइपिएल खेलिरहेको सन्दीपले आफनो तेस्रो खेलमा पनि विकेट लिएका छन् । हैदरावादमा विरुद्ध ओपनिङ बलिङ गरेको उनले विकेट लिन भने अन्तिम बल कुर्नुपर्यो ।

दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले । अन्तिम बलमा १ रन खर्चिए ।

तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।

९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकले १ रन लिए । पाँचौ बलमा मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन खर्चिए ।

सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिएर १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट १० रनमा क्याच आउट गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७