सिएनएन हिरो पुष्पा बस्नेतको ‘पुतलीको घर’ सार्वजनिक


२२ चैत्र २०७५, शुक्रबार
putaliko ghar

काठमाडौं , २२ चैत । ‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने। जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ। सुन्दर पुतली बन्छ ऊ।’

‘मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पुर्‍याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन्। मात्र मौका चाहिएको छ, उनीहरूलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि। म चाहन्छु मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरू त्यहीँबाट जुनी बदल्न सकून्। प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस्।’

माथिका हरफ अभिभावकको गल्तीका कारण अनायकमै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरूको शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गरेकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ को अंश हो।

त्यही झुसिलकीराझै कारागारमा बस्न बाध्य बालबालिकालाई रङ्गीन पुतली बनाउने अभियानमा जुटेकी पुष्पा बस्नेतको जीवन भोगाइ समेटिएको ‘पुतलीको घर’ पुस्तकको शुक्रबार एक कार्यक्रमबीच लोकार्पण गरियो। पत्रकार एवं लेखक विजयकुमार पाण्डेले उक्त पुस्तकको लोकार्पण गरे।

पुस्तक सार्वजनिक गर्दै उनले कारागारभित्र रहेका बालबालिकाको उद्धार गरी उनीहरूको सफल जीवनका लागि पुष्पाले उदाहरणीय कर्म गरेको बताए। अहिलेको दुनियाँ गणितीय जीवन जीउँदै आएको सन्दर्भमा पुष्पाले आफ्नो जीवनलाई संगीतको लयमा हिँडाएको उल्लेख गर्दै पत्रकार पाण्डेले यस पुस्तकले युवा पुस्तालाई सामाजिक सेवामा लाग्ने प्रेरणा दिने विश्वास व्यक्त गरे।

‘पुलतीको घर’का लेखक एवं पत्रकार घनश्याम खड्काले एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथाका रुपमा पुस्तक सार्वजनिक भएको बताए। पुस्तकमा ‘सिएनएन हिरो’ र ‘सिएनएन सुपरहिरो’को उपाधि विजेता पुष्पाको जीवनका आरोहअवरोहलाई विभिन्न पक्षपाटोलाई मौलिकरुपमा प्रस्तुत गरिएको छ।

पुस्तकले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा पाठकलाई डुलाइदिनेछ। अल्केमी प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकको बिक्रीबाट आउने रोयल्टी पुतलीघरका बालबालिकाको पढाइमा खर्च गरिने बताइएको छ। पुस्तकको मूल्य रु ४५० रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७