आँधी आए तराईमा पहाडले छेक्नुपर्छ : युवा संघको टोली एक सातादेखि बारामा सक्रिय {फोटो फिचर}


२३ चैत्र २०७५, शनिबार
Ramesh Paudel Youth Nepal

बारा, २३ चैत : गएको आइतबार साँझ आएको आँधीहुरी प्रभावितहरुको सहयोगको लागि एक सातादेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा संगठन युवा संघ नेपालको मुख्य नेतृत्व बारामा खटिरहेका छन् ।

गत १८ चैतदेखि युवा संघका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा १ सय ५० भन्दा बढी युवा संघका नेता तथा कार्यकर्ताहरु भग्नावशेष हटाउने र अस्थायी निर्माण गर्ने काममा सक्रिय छन् ।

बाराको अति प्रभावित क्षेत्र फेटा गाउँपालिकालाई केन्द्र बनाएर दैनिक उनीहरु सक्रिय भएका हुन् । केन्द्रीय समिति बाहेक बिभिन्न जिल्लाबाट दैनिक जसो राहत लिएर प्रभावितलाई सहयोग गर्न आइरहेको अध्यक्ष पौडेलले बताए ।

युवा संघका अध्यक्ष पौडेल सहित वरिष्ठ उपाध्यक्ष किरण पौडेल, सचिवहरु ध्रुव यादव, राजेश शाह, क्षितिज थेवे, अन्जना अधिकारी, रमेश आचार्य, केन्द्रीय सदस्यहरु, राकेश राई, शिवचन्द्र सिंह, अरुण यादव, श्याम गुफ्ता , हिमेश केसी लगायत क्रियाशिल छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ । साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा र्पुयाएको छ । त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो ।

गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७