बारा-पर्साका हावाहुरी पीडितलाई १ करोड दिने कर्णाली सरकारको निर्णय


२३ चैत्र २०७५, शनिबार
mahendra pande

सुर्खेत, २३ चैत : बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Pradesh no 6 Mahendra bdr sahi 1

शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ । साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा र्पुयाएको छ । त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो ।

गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ। जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७