राजा त्रिभुवनले यस कारण जलाएका थिए १० हजारको नोट

-भैरव रिसाल

वि.सं.१९०३ को कोतपर्वपछि राजकाज गर्ने सम्पूर्ण अधिकार पञ्जापत्र गराई राणाहरूले कब्जा गरे । त्यो शक्तिशाली पञ्जापत्र त्यसपछिका राजाहरूले मान्ने लिखत बन्यो । राज्यमा सम्पूर्ण खटनपटन श्री ३ को हुन लागेपछि श्री ५ ‘खोपाको भीमसेन’ बने ।

त्यसबेला आम्दानीको स्रोत मालपोत र जङ्गलका रूखहरू नै थिए । अलि पछि मात्र बजार अड्डाको व्यवस्था भयो, जुन आजको भन्सार हो । बजार अड्डा सरकार आफैंले सञ्चालन नगरी ठेक्का दिने गरे पनि श्री ३ महाराजसँग मनग्गे पैसा हुन्थ्यो । अहिलेको आर्थिक प्रणालीमा विनियोजित बजेट खर्च गर्न नसक्ने निकाय वा अधिकारी अयोग्य ठहरिन्छन् ।

राणा शासनमा भने यसको ठीक उल्टो अवस्था थियो । जुन हाकिमले कम खर्च गरेर बढी जगेडा राख्थ्यो, ऊ योग्य मानिन्थ्यो । किनकि जगेडा रकम श्री ३ को हुन्थ्यो । यसैले राणा शासकहरूले यथेष्ट पैसा कमाए ।

चन्द्रशमशेर श्री ३ हुँदाको केही प्रसंग रोचक छन् । त्यसबेला त्रिभुवन राजा थिए । राणाहरूले राजाका सम्पूर्ण क्रियाकलापमा दिनभर निगरानी राख्न आफ्नो मान्छेलाई दरबार पठाउने गर्दा रहेछन् । चन्द्रशमशेरले आफ्ना १७ भाइ छोरामध्ये साहिला छोरा सिंहशमशेरलाई दरबार पठाउने गर्थे । सिंहको विवाह शाहजादीसँग भएकोले उनका लागि राजदरबार प्रवेश सहज पनि थियो ।

राजाले कतिपय औपचारिक समारोहमा जाँदा जंगी पोशाक लगाएर जानुपथ्र्यो । वि.सं. १९८० मा त्रिभुवन १७ वर्षका लक्का जवान थिए । बढ्दो उमेरमा पुरानो जंगी पोशाक साँघुरो भएपछि नयाँ सिलाउन भारु ४० हजार सिंहशमशेरमार्फत श्री ३ सँग मागेछन् । उक्त पोशाक कलकत्ताको रेन्किन कम्पनीमा सिलाइन्थ्यो । चन्द्रशमशेरले निजायती अड्डाबाट एउटा नोट (भारु १० हजार मात्र) पठाएछन् ।

थोरै पैसा पठाएको देखेपछि त्रिभुवन रुष्ट भए । उनले नोट टेबुलमा राखी चुरोट सल्काए । चुरोट तान्दै बेलाबेला नोटमा झेस्दै गरे । नोट खरानी भएछ । राजाको अनौठो व्यवहार देखेर सिंहशमशेर चकित परे ।

नोट खरानी भइसकेपछि त्रिभुवनले सिंहशमशेरलाई फर्कन भनेछन् । सिंहले पिता चन्द्रशमशेरकहाँ गएर नोट जलाएको वृत्तान्त बताए । तब श्री ३ ले हडबडाएर भोलि चाँडै भारु ४० हजारको चेक लिएर राजदरबार जानू भनेछन् । सिंहशमशेरले भोलिपल्ट दरबारमा चेक पु¥याएपछि त्यो काण्ड सकियो ।

उक्त नोट प्रकरणमा श्री ३ चन्द्रले छोरा सिंहलाई ‘तिमीहरूको टाउको यिनैले खान्छन्’ भनेका थिए रे ! नभन्दै चन्द्रशमशेरको त्यो भनाइ सत्य भयो । त्रिभुवनले राणाहरूको नियन्त्रणमा बस्न सकस मान्दै गए । उनकै पालामा राणा शासनको अन्त्य भयो ।

मानमर्दनमा ‘जुद्ध अवतार’
जहानियाँ राणा शासनका श्री ३ भएर पनि चन्द्रशमशेरको स्वभाव अनौठो थियो, उनी बोलेर बिझउँदैनथे । उनकै पालामा सती प्रथा र दास प्रथा अन्त्य जस्ता समाजका लागि कल्याणकारी घोषणा भएका थिए ।

तर, उनीपछि श्री ३ भएका भीमशमशेरका उत्तराधिकारी जुद्धशमशेर भने मानमर्दन गर्न पारङ्गत थिए । उनी श्री ५ हरूको तेजोबध गर्न समेत पछि पर्दैनथे । मर्यादा उल्लंघनको दुस्साहस गर्ने भएकाले जुद्धशमशेरसँग राजा त्रिभुवन सकभर पन्छन खोज्थे रे !

श्री ३ जुद्धलाई राणाशासन विरुद्धको गतिविधिमा श्री ५ हरू कुनै न कुनै रूपमा संलग्न भएको भन्ने सुराक पुगेछ । सिंहदरबारमा बृहत् राजनीतिक सभा आयोजना गरी उनले राजा त्रिभुवनलाई सहभागी हुन आग्रह गरेछन् । राजा युवराज महेन्द्र सहित सभामा आएछन् ।

बैठकमा दर्जा अनुसारको आसनको व्यवस्था गरिएको रहेनछ । राजाको उपस्थितिपछि जुद्धशमशेरले आफू बसिरहेको सबभन्दा अग्लो आसन छाडेर त्यसभन्दा अलि होचो सोफामा बसेछन् । उनले युवराजलाई भने आफू बसेको भन्दा होचो आसनमा बसाए रे ! सभामा उपस्थित अन्य सबैलाई भने डसना, चकला र गलैंचामा बस्ने व्यवस्था रहेछ ।

जुद्धशमशेर राजा त्रिभुवनसँग व्यवहार गर्दा झर्कने र राजनीतिक कुरा उठ्दा आफूले श्री ५ को राजनीतिक गतिविधिको सुराक पाइसकेको छनक दिन खोज्थे । सोही क्रममा उनले पूर्णरूपमा मर्यादा पालन नगर्ने दुस्साहस गर्न थालेछन् ।

हिमाल खबर पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्