हिमाल आरोहणका लागि ६१६ जनालाई अनुमति, ४० करोड राजश्व संकलन


२८ चैत्र २०७५, बिहीबार
himal aarohan

काठमाडौं, २८ चैत । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।

himal aarohan

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । जसमा नेपाली महिला छ र पुरुष छ जना छन् ।

सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् ।

नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित छ, हङकङ र अर्जे्न्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ । यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए ।

४० करोड राजश्व सङ्कलन

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले ३४ करोड ७४ लाख ७२ हजार २१२ राजश्व सङ्कलन भएको छ । त्यस्तै नेपाली आरोहीबाट ७५ हजारका दरले रु नौ लाख राजश्व सङ्कलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिए ।

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७