अजेयराज सुमार्गीको मुद्दाको फैसला मिति सर्‍यो


२८ चैत्र २०७५, बिहीबार
sumargi

काठमाडौं, २८ चैत । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको मुक्तीश्री सिमेन्टको नाममा आएको वैदेशिक लगानी फुकुवा गर्ने–नगर्ने सन्दर्भमा बिहीबारका लागि फैसला सुनाउने मिति सरेको छ ।

sumargi

सर्वोच्चले गत चैत ४ गते बिहीबारको मिति तोकेकोमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मिति सारेको हो । अर्को मिति तय भएको छैन ।
यसअघि २०७५ साल पुस २४ गते प्रधानन्यायाधीश जबरासहित न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले नेपाल इन्भेष्टमेन्ट बैंकबाट फुकुवा भएको रकम यथास्थितिमा फर्काउन आदेश दिएको थियो ।

आदेशमा ‘कानुनबमोजिम जे–जस्तो कारबाही र प्रक्रिया अपनाएर भए पनि नेपाल इन्भेष्टमेन्ट बैंकमा प्राप्त भएको विवादित रकम पहिलेकै अवस्थामा राख्न’ निर्देशन थियो । राष्ट्र बैंकले अदालतको आदेशअनुसार, रकम खोज्न र फर्काउन ‘अस्वाभाविक’ निष्कृयता देखाउँदै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले गत पुस १० गते विवादास्पद आदेश गरी मुक्तीश्री सिमेन्टको नाममा आएको वैदेशिक लगानीको रकम चलाउन अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

जोशीको एकल इजलासले सुविधा र सन्तुलनुको कारण देखाई खाता सञ्चालनमा अवरोध नगर्न आदेश दिएका कारण केही दिनमै सिमेन्टका सञ्चालकले उक्त रकम झिकिसकेका छन् । यही अवस्था हुनसक्ने संकेत गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश भट्टराईको इजलासले शंकास्पद रकमलाई पूर्ववर्ती अवस्थामा रोक्का गरिराख्न आदेश दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७