एक्ली आमाले दुःखले पाइलट बनाएका सुजित विमानमै बिलाए


१ बैशाख २०७६, आईतवार
sujit

काठमाडौं, १ बैसाख । मान्छेपिच्छे मरण फरक हुन्छ । तर, कतिको सामान्य हुन्छ कतिको असामान्य अनि अप्रत्यासित ।

sujit

सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार विहानै समिट एयरको विमान दुर्घटनामा पर्दा को–पाइलट सुजित ढुङ्गानाको ज्यान गयो । उनीसँगै दुई प्रहरी असइको पनि ज्यान गयो । सँधै पर्यटकको भीडभाड भइरहने लुक्लामा नयाँ वर्ष २०७६ को दिन उसै पनि भीड हुने नै भयो ।

पर्यटकको चहलपहलले रमाइलो वातावरण रहेको लुक्लाको वातावरण क्षणभरमै कोलाहलमा परिणत भयो । सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किँदा निम्तिएको यो दुःखद दुर्घटनामा ज्यान गुमाएकाको आफन्तको भर चुँडियो भने यो खबरले नयाँ वर्षका दिन दुनियाँलाई दुःखित बनायो ।

रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन । बरू चिप्लिएर बाहिर गयो । पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो । दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो ।

ढुंगानाको फेसबुकमा उनको नाम सुजित लामा ढुंगाना छ । उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा । सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो ।

2 2

सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन् । स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन् । ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रुअरीदेखि गोमा एयरमा काम शुरू गरेका थिए । गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ । ३४ वर्षीय सुजितको एक वर्षअघि मात्र विवाह भएको थियो ।

अहिले सुजितकी श्रीमतीले एक वर्षमै पतिको साथ गुमाएकी छन् भने आमाले पाइलट छोरा गुमाएकी छन् । दुःखले पाइलट बनाएको छोराको प्रगति र भरको सपना देखिरहेकी आमाको सपना लुक्लाले लुटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७