देउमान लिम्बू भन्छन् : जहाजले दुई सहकर्मीलाई लग्यो, म धन्न बाँचें’


१ बैशाख २०७६, आईतवार
deuman

सोलुखुम्बु, १ बैसाख । लुक्लामा समिट एयरको विमान दुर्घटनामा भाग्यले बाँचेका प्रहरी निरीक्षक देउमान लिम्बूलाई अहिले आफू कसरी बचें भनेर अचम्म लागेको छ ।

सँगै रहेका साथीहरु असईद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु निमेषभरमै मृत्यु हुँदा सँगै रहेको आफू कसरी बचें भन्ने अनुमान लगाउन समेत देउमानलाई मुस्किल भइरहेको छ ।

देउमानले देखेको दुर्घटना
२०७६ सालको पहिलो दिन । नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए । यो सिजन पर्यटक आगमनको हो । पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती केहि समय अघिदेखि बढाइएको थियो । प्रहरीले विमानस्थलमा कहाँका कति पर्यटक आउँछन्, कता के जान्छन्, तिनीहरूको गन्तव्य तथा गतिविधि प्रहरीले निगरानी गर्नुपर्ने हुन्छ ।

विमानस्थलमै पर्यटक प्रहरीको छुट्टै युनिट छ, जहाँको नेतृत्व प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काले गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बू आइतबार बिहान लुक्ला विमानस्थल पुगिसकेका थिए । विमानस्थल सुरक्षामा प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ थिए । दुई असई नेतृत्वको गस्ती टोलीमाथि लिम्बू जिल्लाबाटै खटिएर आएका थिए ।

तीनै जनाबीच भेट भयो, एयरपोर्टमा । भेटघाटमा सामान्य गफपछि उनीहरु रनवेको उत्तरतर्फ गफिँदै थिए । बिहान ९ बजेर ६ मिनेट । जतिबेला समिट एयर रामेछाप उड्नका लागि रनवेमा घुमिरहेको थियो । जहाज फर्किएर अब ‘पिकअप’ का लागि तयार भयो ।

घटनाअघिको अवस्थाबारे देउमान भन्छन्, ‘साधारणतः आवाजबाट जहाजले स्पिड लिन लागेको थाहा भइहाल्छ, आवाज सुन्दै थिएँ,’ प्रहरी निरीक्षक लिम्बूले भने, ‘पिकअपको आवाज आएको केही सेकेन्डमा झट्ट फर्किन पुगेछु ।’ किन फर्किएको भन्ने सोच्ने मौका त्यहाँ देखेनन्, न बोल्ने नै ।

लिम्बूका अनुसार त्यतिबेला जहाज रनवे छोडेर उत्तरतर्फको क्षेत्र हुँदै स्पिडमा बतासिइरहेको थियो, जहाँ दुई असई साथ उनी उभिरहेका थिए । ‘जहाज हामीतिरै बतासिँदै थियो, त्यो एक निमेषमै म उभिएको ठाउँबाट छलिएँ,’ लिम्बू थप्छन् , ‘नत्र मलाई पनि जहाजले सोहोरेर लैजाने रहेछ ।’

जहाज बेजोडले अगाडि जे छन् तिनलाई ठक्कर दिँदै गएछ । लिम्बू फर्किंदा असईद्वय भुइँमा रक्ताम्य थिए । ‘रामबहादुरको त स्पट डेथ भइसकेको थियो, पाँच मिटर पर रूद्रबहादुर छटपटाइरहेका थिए,’ लिम्बूले भने, ‘उता जहाजबाट धूवाँ उड्न थालेको थियो,’ लिम्बूले भने, ‘कता के गरूँ भयो, कालको मुखबाट बाँचेर आएको मान्छे थिएँ म ।’

समिटको जहाजले एयर मनाङकोलाई ठक्कर दिएर नजिकै पार्किङमा रहेको अर्को श्रीको हेलिकप्टरलाई थोरै ठक्कर दिइसकेको थियो । मनाङको हेलिकप्टर उड्नका लागि पंखा चलाइरहेको थियो ।

रुद्रबहादुरलाई तत्काल बोक्न लगाएर अर्को घटनास्थल दौडिए । बारुण यन्त्र आइपुग्न लागेको थियो । ‘पानी छ्यापेर आगो लाग्न दिएनौं,’ लिम्बूले भने, ‘तत्काल उद्धारमा जुट्यौं ।’
समिटका कोपाइलट सुजित ढुंगानाको मृत्यु भइसकेको रहेछ । पाइलट रवीन्द्र रोकायालाई निकालियो । समिटकी एयरहोस्टेजलाई भने केही चोटपटक लागेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७