ह्वात्तै बढ्यो बैंकिङ ठगी कसुर, प्रहरीमा आउँछन् यस्तासम्म उजुरी


४ बैशाख २०७६, बुधबार
Bank.jpj karja prabaha

काठमाडौं, ४ बैसाख । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होवीन्द्र बोगटीको कार्यकक्षमा एक युवक फाइल बोकेर दर्ता चलानी गर्न पुगे । ‘चेक बाउन्स भो सर’ बोगटीले सोधे, ‘कति रकमको ?’ ‘आठ लाख रुपैयाँको सर’, युवाले जवाफ फर्काए । बोगटीले हस्ताक्षर गरेर मुद्दा फाँटमा पठाए ।

Bank.jpj karja prabaha

यस्तै एक पेट्रोल पम्पका कर्मचारी त्यसैगरी फाइल बोकेर आए । उनको पनि एक पम्प सञ्चालकले पाँच लाख रुपैयाँ लगेर खातामा पैसा नभएको चेक दिएका थिए । त्यही समयमा अर्का व्यक्ति पनि दुई रुपैयाँ लाख ठगेको भन्दै प्रहरी परिसरमा जाहेरी दिन आइपुगे ।

मंगलबार दिउँसो पाँच मिनेटको अन्तरालमा परिसरमा भएका तीन मुद्दाका जाहेरीले समेत बैंकिङ कसुरको अवस्था चित्रण गर्छ । परिसरका प्रवक्ता होवीन्द्र बोगटीका अनुसा पाँच करोड रुपैयाँभन्दा बढी रकम यसैगरी ठगेका घटना छन् । काठमाडौंको बूढानीलकण्ठका जग्गा व्यापारीले कारोवारको सिलसिलामा यसरी पैसा लगेको र पछि चेक बाउन्स भएको भन्दै उजुरी परेको छ ।

‘पाँच करोड ५० लाख रुपैयाँको ठगीमा जाहेरी परेको छ, पाँच दिनदेखि हामी अनुसन्धानमै छौँ, अहिले यस्ता बैंकिङ् ठगीका मुद्दा ह्वात्तै बढेका छन्’, बोगटीले भने । यस मुद्दाका आरोपी अहिले प्रहरीको हिरासतमा छन् । परिसरमा अहिले अन्यभन्दा अधिक मुद्दा बैंकिङ ठगीका छन् ।

बोगटीले भने, ‘व्यक्तिलाई चेक दिन असाध्यै सहज हुन्छ, चेक दिएको भान हुन्न, जतिको पनि चेक काट्न तयार हुन्छन्न् पैसा तिर्ने बेलामा समस्या पर्छ, पहिले जस्तो छैन, अहिले कानून कडा छ ।’ कानूनबारे थाहा नहुँदा यस्ता घटना बढिरहेका छन् । चेक बाउन्सको मुद्दा पहिले देवानी अदालतमा जान्थ्यो । अहिले सिधै फौजदारी अपराधअन्तर्गत मुद्दा चल्छ ।

साठी दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई प्राप्त भएको छ । चेकमा गम्भीर बनिएन भने जो सुकै पनि थुनामा पर्छ । बिगोसहित जरिवाना र क्षतिपूर्तिसम्मको कानूनी व्यवस्था रहेको परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । उनका अनुसार दोषीलाई तीन वर्षसम्म कैद समेत हुनसक्छ ।

महानगरीय प्रहरी परिसरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ठगी मुद्दामा २१५ उजुरी पर्दा बैंकिङ कसुरका मुद्दा ६ वटा थिए । आर्थिक वर्ष २०७३–७४ मा ठगीका १४० र बैंकिङ कसुरका १० उजुरी परेका थिए । आव २०७४–७५ मा ह्वात्तै बढेर बैंकिङ कसुरका मुद्दा ४२१ पुगे । अन्य ठगीका मुद्दा २१७ मात्रै रहेको तथ्याङ्क छ ।

चालू आवकोे अहिलेसम्म बैंकिङ कसुरका मुद्दा मात्रै एक हजार नाघिसकेको छ । अन्य ठगीका मुद्दा भने १६१ मात्रै दर्ता भएको परिसरले जनाएको छ । प्रहरीका अनुसार विद्युतीय अपराध र बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा छन् । हाउजिङ र वैदेशिक रोजगारसम्बन्धी मुद्दा पनि बढेका छन् ।

यस्ता घटनामा शुरुमा प्रगाढ सम्बन्ध गाँसेर पैसा लिने गरिएको र पछि आपसमा धोका, गलत र झुक्याएर अपराध हुने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७