व्यापार घाटा २४.५ प्रतिशत बढ्यो, ९४९ अर्बको आयात हुँदा ६१ अर्बको निर्यात

चीन र भारतबाट सबैभन्दा बढी बस्तु आयात


४ बैशाख २०७६, बुधबार
byaparghata nepal1517464658

काठमाडौं, ४ बैसाख : सरकारले निर्यात प्रवर्धन र आयात नियन्त्रणका कार्यक्रमहरु भइरहेका दावी गरिरहेका बेला मुलुकको व्यापार घाटा भने वर्षेनी बढ्दो छ ।

byaparghata nepal1517464658

यो वर्ष मुलुकको व्यापार घाटा २४.५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५–७६ को आठ महिनामा कूल वस्तु व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । फागुन मसान्तसम्म निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार निर्यात आयात मूल्य सूचकाङ्क २०७५ फागुन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.५ प्रतिशत र आयात मूल्य सूचकाङ्क ४.३ प्रतिशतले बढेको छ ।

०७४ फागुन महिनामा ४.२ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा २.७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५–७६ को आठ महिनामा कूल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७५–७६ को आठ महिनामा कूल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भएर ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५–७६ को आठ महिनामा कूल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७