एमालेलाई प्रदेश नम्बर दुईको सन्देश


प्रकाशित मिति : September 27, 2017

संविधानसभाबाट संविधान जारी भएसँगै राष्ट्रिय राजनीतिको महत्वपूर्ण मुद्दाका रूपमा मधेस बन्न पुग्यो । संविधानप्रति असहमति राख्ने पक्ष र संविधान कार्यान्वयन हुनुपर्छ भन्ने पक्षबीच वैचारिक अन्तरविरोध चल्यो । एमाले संविधान कार्यान्वयनको पक्षमा दृढतासाथ उभियो । संविधान अस्वीकार गरेर जाने विषय उचित नभएको धारणा एमालेले प्रस्ट रूपमा राख्दै आयो । संविधान जारी भएपछिको आवश्यकता संशोधन होइन, कार्यान्वयन नै हो भन्ने पक्षमा एमालेले कडाइसाथ अडान राख्दै आयो । यही एजेन्डा बोकेर एमाले स्थानीय तहको निर्वाचनमा होमियो । जनताले एमालेको पक्षमा मतदान गरे ।

पछिल्लो निर्वाचनले जनता संविधान संशोधनको पक्षमा नभई कार्यान्वयनको पक्षमा छन् भन्ने पुष्टि गरेको छ । विशेष गरी ५ नम्बर प्रदेशको निर्वाचनमा त्यो देखियो । मधेसी मात्र नभई सबै जनता एमालेको पक्षमा उभिए । यसले २ नम्बर प्रदेशको निर्वाचन गराउन केही पक्षलाई हतोत्साहित पनि बनायो । अन्ततः उसले २ नम्बर प्र्रदेशको निर्वाचनमा जान संशोधन प्रस्ताव संसद्मा दर्ता मात्रै भए पनि गरिदिनुपर्छ भन्यो । सोहीबमोजिम संशोधन प्रस्ताव संसद्मा दर्ता भयो । प्रक्रियामा गइसकेपछि अन्ततः संविधान संशोधन प्रस्ताव असफल बन्यो । यसैको पृष्ठभूमिमा २ नम्बर प्रदेशमा निर्वाचन भयो । निर्वाचनमा ७७ प्रतिशत जनता सहभागी भए ।

यसलाई एमालेले लोकतन्त्रको विकासका लागि महत्वपूर्णं कदमका रूपमा लिएको छ । एमालेले बोक्दै आएको मान्यताको जितका रूपमा यसलाई एमालेले स्वीकार गरेको छ । एमालेले संविधान कार्यान्वयन नै अहिलेको प्राथमिकता रहेको विषय महत्वसाथ उठाउँदै आएको थियो । त्यो अडानमा एमाले अद्यापि कायमै छ । संविधान जारी भएसँगै संविधान कार्यान्वयनको पक्षमा रहेकालाई विशेषगरी तराईमा एक्ल्याउने, कमजोर बनाउने, निषेध गर्ने राजनीति अरम्भ भयो । सत्तारुढ दल पनि यस प्रक्रियामा सामेल बन्यो । सत्ताले सबै राजनीतिक दललाई सुरक्षा दिनुपर्नेमा एमालेलाई तराई मधेसमा एक्ल्याउने काम भयो । एमालेले मेचीकाली अभियान सुरु गर्यो । यसले तराई मधेसमा एमालेका लागि केही अप्ठ्यारो परिस्थिति सिर्जना गरिदियो । यी तमाम विषयलाई चिरेर एमालेले जुन वातावरण तय गर्यो , यसलाई एमालेले उपलब्धिपूर्ण पक्षका रूपमा लिएको छ ।

निर्वाचनका क्रममा एमाले विकास र समृद्धिका नारा लिएर जनताबीच गयो । तर, त्यसका लागि समय अपुग बन्यो । परिस्थिति पनि अनुकूल रहेन । विशेषगरी एमालेका केन्द्रीय नेता नै चुनाव प्रचारमा जान सक्ने स्थिति रहेन । कतिपय ठाउँमा कार्यक्रम भए । प्रमुख नेता सहभागी पनि भए । तर, निकै अवरोध सिर्जना गरियो । त्यसो हुँदा चुनावी प्रचारप्रसार गुणात्मक हुन सकेन । पार्टीसँग ‘टाइअप’ गरेर प्रचारप्रसार हुन सकेन । अर्कातर्फ निर्वाचन आयोगको निष्पक्षता र स्वच्छतामा पनि कमजोरी देखियो । निर्वाचन आयोग सत्ता राजनीतिबाट प्रभावित बन्यो । निर्वाचनको मिति घोषणा भएलगत्तै क्षेत्र परिवर्तनका काम भए । संख्या थपघटका घटना भए । यसले एमालेलाई उम्मेदवार छनोट गर्ने क्रममा जटिलता ल्याइदियो । यसले चुनावी तयारीको काममा असर पुर्‍यायो । निर्वाचनका लागि कर्मचारी खटाइए । तर, उनीहरू आफूअनुकूल नभएको भन्दै रातारात परिवर्तन गर्ने काम भए । आचारसंहिता उल्लंघनका दृष्टिबाट यी गम्भीर विषय हुन् । यसले निर्वाचन आयोगको विश्वसनीयतामै प्रश्न खडा गरिदियो । यसले प्रचारको अभियानलाई प्रभावित पार्‍यो । जनताले जुन ढंगले मतदान गरेका थिए, त्यसको सही गणना हुन सकेन । निर्वाचनका परिणाम तलमाथि हुने घटना यसैका उदाहरण हुन् ।

त्यसो हुँदा एमालेले मूल्यांकन गरेअनुसारको चुनावी परिणाम प्राप्त गर्न सकेन । अर्को, एमालेविरुद्ध भ्रम फैलाइयो । त्यसलाई एमालेले चिर्न सकेन । आन्तरिक एकता कायम गर्न नसक्नु पनि चुनावी परिणाम कमजोर आउनुका कारण हुन् । चुनावमा आकांक्षी धेरै हुनु स्वाभाविक हो । तर, त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकिएन । यसले निर्वाचनलाई प्रभावित पार्‍यो । कतिपय वडामा एमालेले जितेको छ । तर, प्रमुखमा हारेको छ । कतिपय तहमा प्रमुख पद एमालेले जितेको छ । तर वडामा हारेको छ । पार्टीभित्रको अन्तरिक समस्याले यस्तो घटना भएका हुन् । एमाले बलियो भएका ठाउँमा विपक्षी मोर्चाबन्दीमा उत्रिए । त्यसो हुँदा पनि चुनावी परिणाम पक्षमा रहेन । यद्यपि जनमतका आधारमा एमाले कमजोर छैन । २ नम्बर प्रदेशको निर्वाचनमा नेपालका राजनीतिक दलबीचको मात्रै प्रतिस्पर्धा रहेन । बाह्य शक्तिको हस्तक्षेप पनि त्यहाँ देखियो । अत्यन्त ठूलो मात्रामा आर्थिक चलखेलका घटना भए । सत्तारुढ दलले ठूलो मात्रामा धनको प्रयोग गरेको सूचना आइरहेका छन् । यसले जनमत प्रभावित बन्न पुग्यो । यसको असर निर्वाचनमा देखियो । एमालेको पक्षमा मत नआउनु अर्को यो पनि कारण हो ।

एमालेलाई जनताबीच जान निषेध गर्न खोजिएको थियो । यद्यपि त्यो प्रयास असफल बन्यो । एमाले जनताबीच गयो । चुनावमा भाग लियो । परिणाम सुखद नभए पनि आत्तिनुपर्ने स्थिति छैन । एमालेले यही जगमा टेकेर अबको रणनीति तय गर्छ । जननिर्वाचित प्रतिनिधिकै सहयोगबाट एमालेले २ नम्बर प्रदेशमा संगठन विस्तार गर्छ । प्राविधिक रूपमा एमालेको संख्या कमजोर छ । तर, वैधानिक प्रक्रिया यही नै हो । यसमा लाहानको उदाहरण स्मरणीय छ । मधेस आन्दोलनको उद्गम थलो लहान हो । तर, त्यहाँ एमालेले जितेको छ । सप्तरीको राजबिराजमा विगतमा एमालेमाथि आक्रमण भयो । मेचीकाली अभियानका क्रममा भएको घटना आलै रहेको स्थितिमा एमालेले तीनवटा स्थानीय तहमा जित हासिल गरेको छ । त्यो एमालेका लागि सुखद विषय हो । जहाँ एमालेले हारेको छ । अत्यन्तै झिनो मतको अन्तर छ । त्यसो हुँदा सप्तरीजस्तो ठाउँमा एमालेले प्राप्त गरेको परिणाम अत्यन्त सकारात्मक छ ।

एमालेले बागमतीआसपासका क्षेत्रमा जुन परिणाम प्राप्त गर्नुपथ्र्यो, त्यो हुन सकेन । खासगरी रौतहट र महोत्तरीमा एमालेको उपस्थिति रहन सकेन । यो एमालेका लागि गम्भीर विषय हो । यसलाई समीक्षाको विषय बनाउन जरुरी छ । यस विषयमा एमालेले अध्ययन पनि थालिसकेको छ । त्यसो हुँदा तराई मधेसमा एमाले अझ ज्यादा सशक्त ढंगले प्रस्तुत हुने वातावरण बन्छ । यो निर्वाचनले एमालेलाई तराई मधेसमा कसरी प्रस्तुत हुने भनेर शिक्षा दिएको छ । यसले तराई मधेसको जनताको पक्षमा संवादको थालनी गरिदिएको छ । भोलिका दिनमा एमालेको मान्यता स्थापित गराउने आधार तयार भएको छ । यसले अब हुने प्रदेश निर्वाचनमा एमाले सबैभन्दा बलियो शक्ति बन्ने अधार तयार गरेको छ । एमालेले अहिले कति सिट जित्यो भन्दा पनि कति जनतासमक्ष पुग्यो भन्ने पक्षलाई अहिलेको निर्वाचनले स्थापित गरिदिएको छ ।

गणितीय हिसाबले हेर्दा एमाले पाँचौँ स्थानमा देखिएको होला । जनमतका पक्षबाट हेर्दा एमाले अन्य दलभन्दा कमजोर छैन । यही जगमा उभिएर एमालेले भोलिको राजनीति तय गर्नेछ । यही आधारबाट एमालेलाई भोलिका दिनमा बलियो शक्तिका रूपमा उभ्याउन सकिन्छ । समग्रमा हेर्दा एमाले स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनेको छ । यही आलोकमा रहेर एमालेले अब हुने प्रदेश र संसदीय चुनावको तयारी गर्नेछ । यसका लागि एमाले विचार र एजेन्डा मिल्ने राजनीतिक दलसँग सहकार्य गर्न तयार छ । यसका लागि एमालेले सम्भावनाका सबै ढोका खुला गरेको छ ।

-नयाँ पत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्