उत्तर कोरियाले गर्‍यो यस्तो नयाँ हतियारको परीक्षण, किम रुस भ्रमणको तयारी


५ बैशाख २०७६, बिहीबार
kim

सियोल, ५ बैसाख । उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ ।
उत्तर कोरियाली सन्चारमाध्यम ‘केसीएनए’ का अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ ।

kim

केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर, नयाँ हतियारकाबारेमा विस्तृत विवरण दिइएको छैन ।

उत्तर कोरियाली नेता गत वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन् । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो ।

किमको भनाइ उद्धृत गर्दै केसीएनएले भनेको छ–‘नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्यांकन र प्रशंसा गर्दछु ।’

विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन् । हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्त राज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाइ छ ।

कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिस अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुनसक्ने बताउँछन् ।

किमले सम्भवत: अर्को साता रुसको भ्रमण गर्ने
एउटा रुसी अखबारले रुसी विदेश मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै नेता किम र राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता शिखर बैठक गर्न तयारी जोडतोडका साथ भइरहेको जनाएको छ ।

जापानको एक टेलिभिजन च्यानलले किमका मुख्य सहयोगीलाई रुसी सहर भ्लाडिभोस्टकमा देखिएको जनाएको छ । रुसको दैनिक अखबार ‘इज्भेस्टिया’ले रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै पुटिन र किमबीचको पहिलो शिखर बैठक भ्लाडिभोस्टकमा हुनसक्ने बताएको छ ।
राष्ट्रपति पुटिन चीनमा आगामी अप्रिल २६–२७ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेक्रममा भ्लाडिभोस्टकको भ्रमण गर्दैछन् । रासस–योनहाप

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७