जेट एयरवेजका कर्मचारीको रुवाबासी, मोदीलाई प्रश्न, ‘तपाईले भनेको ‘राम्रो दिन’ यही हो ?’ (फोटो फिचर)


६ बैशाख २०७६, शुक्रबार
jet

नयाँदिल्ली, ६ वैशाख ६ । महिनौंदेखि तलव नपाउँदा पनि उनीहरु काममा खटिरहे, आशा थियो–संकट चाँडै समाप्त होला, कुनै दिन त तलव पाइएला !

jet

भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत कर्मचारी अहिले बिचल्लीमा परेका छन् । समयमै तलव नपाए पनि कुनै दिन त पाइएला भन्दै काम गरिरहेका उनीहरु अहिले बेरोजगार भएका छन् । उनीहरुको त्यो झिनो आशा समाप्त भएको छ ।

२२ वर्षदेखि सो एयरवेजमा काम गर्दै आएकी हरप्रित कौर स्तब्ध छिन् । उनी पछिल्लो समय असिस्टेन्ट बेस म्यानेजरका रुपमा कार्यरत थिइन् । सबै विमान ‘ग्राउन्डेड’ भएपछि उनी बेरोजगार भएकी छन् ।

jet 1

१६ वर्षदेखि काम गर्दै आएका सिनियर क्याप्टेन राजेश हांडा, ५ वर्षदेखि काम गर्दै आएकी एयरहोस्टेस रेनु राजौराको अवस्था पनि उस्तै छ । राजेश भन्छन्, ‘चार महिनादेखि मैले तलव लिएको छैन, घरका लागि ऋण लिएको थिएँ, दुई बच्चा छन्, विद्यालयको फिस तिर्नुपर्छ, समयमै बैंकको ऋण तिर्न नसक्दा कालोसूचीमा राख्छ ।’ तलवबिहीन भएर कति दिन घर खर्च चल्छ भन्नेमा सिङ्गो परिवार चिन्तित बनेको उनले बताए ।

jet1

जेट एयरवेजले सबै उडान बन्द गरेपछि २२ हजार कर्मचारी एकाएक बेरोजगार बनेका छन् । परिवारका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्तामा उनीहरु पिरोलिएका छन् ।बेरोजगार भएकामध्ये केहीलाई अन्य विमान सेवा कम्पनीले रोजगारीका लागि प्रस्ताव गरे पनि थोरै मात्र तलव दिन सकिने शर्त राखेका छन् । बाँकी कर्मचारीको भविष्य के हुने हो भन्ने अत्तोपत्तो छैन ।

२६ वर्षदेखि सेवा दिँदै आएको जेट एयरलाइन्स बुधबारदेखि ठप्प भएको हो । भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो । बैंकको ऋणमा डुबेपछि जेयर एयरवेज आर्थिक संकटमा नराम्ररी फसेको हो । ऋणमा डुबिसकेको कम्पनीलाई थप ऋण दिन कुनै पनि बैंक तयार भएनन् । परिणामस्वरुप दैनिक रुपमा हुने खर्च समेत धान्न नसकेर कम्पनीले आफ्ना सबै उडान बन्द गरेको हो ।

एयरलाइन्सको जागिर गुमेपछि एकाएक सडकमा आइपुगेका कर्मचारीले नयाँ दिल्लीमा प्रदर्शन समेत गरे । प्रदर्शनमा उनीहरुका परिवार समेत सामेल थिए । तिनैमध्येकी एक हुन् संगीता मुखर्जी । उनका पति २२ वर्षदेखि जेट एयरलाइन्समा काम गर्दै आएका थिए । ‘मेरी आमा क्यान्सर पीडित हुनुहुन्छ, छोरा नौ कक्षामा पढ्छ, उसको फिस तिर्न सकेको छैन,’ उनले भनिन्, ‘पैसाकै अभावमा आमाको उपचार बन्द भयो, सरकारले केही त गर्नु पर्‍यो !’

jet2

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिँदै आएको ‘राम्रो दिन’ भन्ने नारालाई नै उद्धृत गर्दै मोदीलाई प्रश्न गरिन्, ‘हामीले जे देखिरहेका र भोगिरहेका छौं, के यही हो तपाईले भनेको राम्रो दिन ?’

जेट एयरवेजले एक अर्ब डलरभन्दा बढी ऋण तिर्न सकेको छैन । कुनै समय एक सयभन्दा बढी विमानबाट सेवा दिँदै आएको यो एयरवेजलाई त्यतिबेला भारतकै सबैभन्दा ठूलो विमानसेवा कम्पनी मानिएको थियो । (एजेन्सी )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७