झुक्किएर बीजेपीलाई भोट गएपछि पछुताउँदै मतदाताले छिनाए आफ्नै औंला !


६ बैशाख २०७६, शुक्रबार
pawan kumar

काठमाडौं, ६ वैशाख । एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि पछुताउँदै आफ्नो बायाँ हातको चोरी औंला छिनाएका छन् ।

बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नौ औँला नै काटेका छन् । ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ ।

उत्तर प्रदेशको बुलन्दशहरको कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीबार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए ।

ती युवकले गलत पार्टीलाई मत दिए पछि आत्मग्लानी भएको बताए । त्यसपछि रिसले चुर भएको ती युवाले घरमा गएर बायाँ हातको चोरी औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए ।

भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदैछ । झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७