आफ्नै यात्रुलाई अपमानित गर्न बुद्ध एयरको ‘प्रोपोगान्डा’


६ बैशाख २०७६, शुक्रबार
Buddha Air Nepal

काठमाडौं, ६ वैशाख : कुनै पनि सेवाप्रदायक कम्पनी आफ्नो सेवाग्राहीप्रति जिम्मेवार रहनुपर्छ । तर, नेपालको ठुलो मध्येको एक जिम्मेवार हवाईसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नै सेवाग्राही अर्थात् यात्रुहरुको अपमान र चरित्रहत्या हुने गरी प्रचार बाजीमा गरेका छन् ।

बुद्ध एयर यात्रुहरुको असन्तुष्टी अथवा भनाईलाई सुझावको रुपमा लिएर सुधार गर्नुको साटो उल्टै यात्रुको नै अपमान हुने गरी सार्वजनिक प्रचारबाजीमा उत्रिएको छ । जसको कारण यात्रुका रुपमा सेवा लिएका सावर्जनिक पदमा रहेका जिम्मेवार व्यत्तिहरु नै ‘प्रोपोगान्डा’को शिकार भएका छन् ।

घटना नम्बर : १
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा झापा क्षेत्र न.४ बाट निर्वाचित सांसद एलपि साँवा लिम्बू २६ चैत २०७५ मा काठमाडौंबाट झापाको भद्रपुर उड्दै थिए । अपरान्ह ४ : ३० को उडानबाट परिवार सहित झापा जादै थिए । उनका सहयोगी सिकिन पासवान झापामा नै भएको कारण उनी आफै लामो लाइनमा बसेर ४ वटा जहाजको बोर्डिङ्ग पाश लिए ।

बोर्डिङ्ग काउन्टरले ३ जनाको टिकट ७ औं लाइनमा दियो । एउटा भने ‘एनी सिट’ लेखिएको बोर्डिङ्ग पाश दिइयो । सांसद लिम्बू त्यही टिकट लिएर खाली रहेको १८ औं सिटमा गएर बसे । कुन यात्रु कुन सिटमा बसेको छ ? त्यो चेकजाँच जहाज उड्न अगावै हुनुपर्ने थियो । तर, भएन । जहाज उडीसकेपछि एयर होस्टेजले ‘तपाईको सिट कुन हो ?’ भन्दै सोधिन् ।

टिकट माग्दै सार्वजनिक रुपमा अपमान हुने गरी उठाएर ‘तपाई त्यहाँ गएर बस्नुहोस्’ भनेपछि सांसद लिम्बूले आफूलाई उठाउनु पर्ने कारण बारे जिज्ञाशा राखे । सिटमा बसीरहेका यात्रुलाई होच्चाउने गरी एयरहोस्टेजले बोलेपछि सांसद लिम्बूले पनि प्रतिवाद गरे । घटना बारेमा भन्छन्,‘जहाजमा बसिरहेको यात्रुलाई जहाज उडिसकेपछि होच्चाएर बोलेपछि प्रतिवाद गरेको मात्रै हो ।’

सांसद लिम्बूले यसलाई सामन्य संवादको रुपमा मात्रै लिएका थिए । तर, सांसद त्यतिबेला अचम्भित भए जतिबेला उनी बुद्ध एयरमा बसेको त्यही दिनको तस्बिर राखेर चरित्रहत्या हुने गरी समाचार बिभिन्न सञ्चार माध्यममा आयो । स्रोतका अनुसार जहाजमा रहेका बुद्ध एयरकै कर्मचारीले त्यो सामान्य संवाद र तस्बिर सार्वजनिक खपतका लागि उपलब्ध गराएका थिए ।

बुद्ध एयरले नै लिम्बू बिरुद्ध समाचार लेख्न ‘लबिङ्ग’ समेत गरेका थिए । सांसद लिम्बू बिरुद्ध सामाजिक सञ्जाल र सञ्चार माध्यममा यतिधेरै प्रचार भयो मानौं उनले कुनै ठुलो गल्ती गरे । सामन्य बिषयलाई प्रचारबाजी गरेर आफू बिरुद्ध अभियान चलाएको देख्दा दुःख लागेको उनले बताए । उनले भने, ‘यात्रुलाई जहाजमा अपमान गर्ने अनि त्यही बिषयलाई लिएर प्रचारबाजी गरिनु गति सही हो या गलत त्यो सम्बन्धित निकायले जान्ने बिषय हो ।’

घटना नम्बर : २
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १ वैशाख २०७६ प्यूठानको गौमुखीमा आयोजित प्रदेशस्तरीय मिडिया सम्मेलन उद्घाटनमा गएका थिए । मन्त्री बाँस्कोटाको वैशाख २ गते साँझ ५ः३० बजे भैरहवाबाट काठमाडौंतर्फ उडानको टिकट थियो ।

मन्त्री बाँस्कोटासँगै रहेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार प्युठानको अर्खाक ठूलाचौरबाट १२ : २५ बजे बीच कार्यक्रमबाटै बिदावारी भएर मन्त्री बाँस्कोटाको टोली भैरहवा तर्फ हिडे । थापा भन्छन्, ‘त्यहाँबाट भालुबाङ घुम्दा प्लेन छुट्नसक्ने हुँदा निर्धारित रूटसमेत परिवर्तन गरी अग्लुङ–बाझकटेरी–म्यालपोखरी–पुर्कोटदह–सौतामारे–रतनमारे–सन्धिखर्क–गोरूसिंगे–लुम्बिनी हुँदै ६ : १५ बजे टोली भैरहवा एयरपोर्ट पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य यस यात्रामा सँगसगै हुनुन्थ्यो ।’

भैरहवा एयरपोर्टमा पुगुञ्जेल काठमाडौंको खराब मौसमका कारण मेरो टिकट रहेको यति एयरको भैरहवा उडान नहुने घोषणा भइसकेको थियो । बुद्ध एयरको उडान पनि नहुने भनिए पनि घोषणाचाहि गरिएको थिएन ।

काठमाडौंबाट जहाज उडान नहुने अवस्थामा भैरहवामा होटल खोज्नु अनिवार्य हुन्थ्यो । त्यसकारण सञ्चार मन्त्रीको टोली सिडिओ कार्यालयसँग पूर्ण समन्वय गरी टिकुलीगडस्थित होटलमा पुगेर कोठा बुक गर्न लाग्यो । तर, कोठामा नपुग्दै बुद्ध एयरको जहाज आउने र उडान गर्ने भएको खबर आयो । अनि, हतारहतार लबीबाटै टोली एयरपोर्टतर्फ लागिहालेको थियो । तर २ किमी नजिकै पुगेको अवस्थामा जहाज काठमाडौतर्फ उड्यो भन्ने जानकारी प्रशासनमार्फत आयो । अनि मन्त्री बाँस्कोटा पुनः होटलतर्फ लागे ।

मन्त्रीले जहाज रोकेर पर्खिन भनेका थिएनन् । भोलीपल्ट बिहान बुद्ध एयरको भैरहवा स्टेसन प्रमुखलाई नागरिक उड्डयन कार्यालय प्रमुखकै उपस्थितिमा स्वयं सञ्चारमन्त्रीले समयमा किन सूचना नगरेको भनी सोध्दा प्रहरीको सईले मन्त्रीज्यूको टोली होटलमा गइसकेको र भोलि जाने भनेको भनी झुट बोलेका थिए ।

घटना बारे प्रत्यक्षदर्शी नेता थापा भन्छन्, ‘मन्त्रीको पिएसओ साथै थिए, उनलाई केही खबर आएको होइन । त्यहाँ बुद्ध एयरका स्टेसन प्मुख नाजवाफ र लज्जित भएर आशिष्टतापूर्वक बीचमै उठेर हिडेको त म स्वयंले देखेको हुँ । यस्तो यथार्थलाई ढाकछोप गर्न ६८ जना यात्रुको हितमा सञ्चारमन्त्रीलाई ३०÷३५ मिनेट नकुरेको भनी १०० प्रतिशत झूठो वक्तव्यबाजी गर्नु त दिउँसै रात पार्न खोजेकोजस्तो मात्र हो । यो बुद्ध एयरको गैरव्यवसायिक व्यवहार र जवाफदेही हुन नखोज्ने मनोमानीपूर्ण रवैयाको पराकाष्टा मात्र हो ।’

अघिल्लो दिन बुद्ध एयरले टोलीलाई छोडेको थियो । तर, मन्त्रीलाई भैरहवामा छाडेर हिड्ने बुद्ध एयरको व्यवस्थापनले भोलीपल्ट १ सिट मात्रै दिनसक्ने भनेर उत्तर दियो ।

बुद्ध एयरले यात्रुलाई छोड्यो । भोली टिकट समेत दिएन । यो त नयाँ भएन । बुद्ध एयरले गल्ती स्वीकार गरेर यात्रुलाई माफी माग्नु पर्ने थियो । तर, उल्टै मन्त्रीको अपमान मात्रै होइन चरित्र हत्या गर्ने विज्ञप्ति जारी गर्यो । बुद्ध एयरको विज्ञप्तिपछि सञ्चार मन्त्री बाँस्कोटा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आलोचनाको शिकार बने । बुद्ध एयरले विज्ञप्ति मात्रै जारी गरेन सञ्चार माध्यमहरुलाई यो विज्ञप्तिलाई महत्वको साथ समाचार बनाउन लबिङ्ग समेत गरे ।

नीजि सञ्चार माध्यमले त बनायो नै, मन्त्री बिरुद्ध निकालिएको विज्ञप्तिको समाचार सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिले समेत बनायो ।

मन्त्री बाँस्कोटाले वुटवलमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरले छोडेको बिषयमा बोलेका थिए । उनले बिषयको रुपमा नभई पत्रकारहरुले विना योजना रुपन्देहीमा बसेकोप्रति चासो राखेपछि यो प्रसङ्ग बताएका थिए । बिना योजना रुपन्देही बस्नुपरेको प्रशंग कोट्याएका मन्त्री बाँस्कोटाले यसलाई समाचारको विषय बनाउनैपर्ने नभएको बताएका थिए ।

सोही दिन काठमाडौं फर्किने तालिका बनाएका मन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनका लागि समय मागेका थिए । तर, समय नभएपछि पत्रकार सम्मेलन नहुने बताइएको थियो । जहाजले छोडेपछि पत्रकार सम्मेलन आयोजना भएको थियो । त्यही प्रसङ्गमा मन्त्रीले बुद्ध एयरको बारेमा बोलेका थिए ।


सधैं अपमान
तुलनात्मक रुपमा बुद्ध एयरलाई सुरक्षित एयरको रुपमा लिइन्छ । यही बलियो पक्षलाई हतियार बनाएर बुद्ध एयरले यात्रु माथि भने सधैं अपमान गर्ने गरेका छन् । उडान तालिका सधैं गडबड हुने गरेको छ । बुद्ध एयरले यात्रुलाई अपमानित गरेर एयरपोर्टबाट फर्काएका बिभिन्न भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ ।

बुद्ध एयरलाई नेकपाका केन्द्रीय सदस्य सूर्य थापाको दोस्रो खुल्ला पत्र :-

Surya Thapa 2

बुद्ध एयरका अध्यक्ष मान्यवर श्री वीरेन्द्रबहादुर बस्नेतलाई दोस्रो खुला ध्यानाकर्षण 
२०७६ बैशाख २ गते भैरहवाबाट काठमाडौं आउने क्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई छाडेर बुद्ध एयरले उडान गरेको बारेमा स्वयं मन्त्रीले घटना विवरण सार्वजनिक गर्नुभएको छ । त्यसमा बुद्ध एयरको ध्यानाकर्षण (?) पढेपछि त हामीलाई ताज्जुब नै लाग्यो । म बुद्ध एयरको यात्री थिइनँ । तसर्थ: त्यसबारे बोलेको थिइँन । तर हिजो र आजका कतिपय प्रतिक्रिया र दुष्टमतिका टिप्पणी पढेसकेपछि तथ्य लेख्न बाध्य भएको छु :

१. प्यूठानको गौमुखीमा प्रदेशस्तरीय मिडिया सम्मेलन उद्घाटन गर्न उहाँ २०७६ वैशाख १ गते दिउँसो ३ बजे बुद्ध एयरबाट भैरहवा प्रस्थान गर्ने टिकट थियो । तर बुद्ध एयरले डेढ घण्टा ढिलो गरी उडान गरेको हुनाले राती १० बजे मात्र प्यूठानको बिजुवार पुग्न सकियो । म साथमै यात्रामा हुनाले भन्नैपर्छ- नयाँ बर्षको साँझ स्वर्गद्वारी पुगेर आश्रममै रात्रीबास बस्ने योजना डेढ घन्टा ढिलो भैरहवा उडान भएकाले बिथोलियो । यसरी उडान ढिलो गरेकोमा जहाजभित्र दुखसम्म व्यक्त गरेको सुनिएन । जबकि अन्यत्र १ घण्टाभन्दा बढी ढिलो गरे यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने बाध्यता हुन्छ ।

२. वैशाख २ गते साँझ ५:३० बजे भैरहवाबाट काठमाडौंतर्फ उडानको टिकट थियो । त्यसनिम्ति अर्खाको ठूलाचौरबाट १२:२५ बजे बीच कार्यक्रमबाटै बिदावारी भएर हामी भैरहवातर्फ लागेका थियौ । त्यहाँबाट भालुबाङ घुम्दा प्लेन छुट्नसक्ने हुँदा निर्धारित रूटसमेत परिवर्तन गरी अग्लुङ-बाझकटेरी- म्यालपोखरी-पुर्कोटदह- सौतामारे-रतनमारे- सन्धिखर्क- गोरूसिंगे- लुम्बिनी हुँदै ६:१५ बजे उहाँको टोली भैरहवा एयरपोर्ट पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य यस यात्रामा सँगसगै हुनुन्थ्यो ।

भैरहवा एयरपोर्टमा पुगुञ्जेल काठमाडौंको खराब मौसमका कारण मेरो टिकट रहेको यति एयरको भैरहवा उडान नहुने घोषणा भइसकेको थियो । बुद्ध एयरको उडान पनि नहुने भनिए पनि घोषणाचाहि गरिएको थिएन । 

३. काठमाडौंबाट जहाज उडान नहुने अवस्थामा भैरहवामा होटल खोज्नु अनिवार्य हुन्थ्यो । त्यसकारण संचारमन्त्रीको टोली सिडिओ कार्यालयसँग पूर्ण समन्वय गरी टिकुलीगडस्थित होटलमा पुगेर कोठा बुक गर्न लाग्यो । तर, कोठामा नपुग्दै बुद्ध एयरको जहाज आउने र उडान गर्ने भएको खबर आयो । अनि, हतारहतार लबीबाटै टोली एयरपोर्टतर्फ लागिहालेको थियो । तर २ किमी नजिकै पुगेको अवस्थामा जहाज काठमाडौतर्फ उड्यो भन्ने जानकारी प्रशासनमार्फत आयो । अनि उहाँ पुनः होटलतर्फ लाग्नुभएको धियो । 

४. यस्तो नियतिका निम्ति गुल्मीको पुर्कोटदहदेखि सम्पर्क र समन्वय गर्दै कच्ची बाटो जहाज भेट्न हतारहतार गरी सौतामारे र रतनमारेमा स्वागत गर्न पर्खेका शुभेच्छुक र नेताकार्यकर्तासॅग हातसमेत नमिलाई भैरहवातर्फ दौडिने जरूरी किन पर्दथ्यो ? अर्घाखाँचीको सन्धिखर्कमा पत्रकार भेटघाट निम्ति जुटेका संचारकर्मी र पार्टी नेताकार्यकर्तासॅग राम्ररी बोल्नसमेत समय भएन । चाक्ला आइपुग्दा ४५ मिनेट ढिलो उडान हुने भएको खबरका बाबजुद दालमोठ, बिस्कुट र पानी खाँदै टोली दौडिएको त जहाज भेट्न नै त थियो !

५. मन्त्रीले जहाज रोकेर पर्खन भनेको वा दबाब दिएको हुदै होइन । किन काठमाडौँबाट जहाज उड्नासाथ समयमै खबर नगरेको भन्ने चासो र सरोकार अवश्य देखाउनु भएको हो । भोलिपल्ट बिहान बुद्ध एयरको भैरहवा स्टेसन प्रमुखलाई नागरिक उड्डयन कार्यालय प्रमुखकै उपस्थितिमा स्वयं संचारमन्त्रीले समयमा किन सूचना नगरेको भनी सोध्दा प्रहरीको सईले मन्त्रीज्यूको टोली होटलमा गइसकेको र भोलि जाने भनेको भनी सफेद झूठ बोलेको देख्दा झनै आश्चर्य लाग्यो । मन्त्रीको पिएसओ साथै थिए, उनलाई केही खबर आएको होइन । त्यहाँ बुद्ध एयरका स्टेसन प्मुख नाजवाफ र लज्जित भएर आशिष्टतापूर्वक बीचमै उठेर हिडेको त म स्वयंले देखेको हुँ । यस्तो यथार्थलाई ढाकछोप गर्न ६८ जना यात्रुको हितमा संचारमन्त्रीलाई ३०/३५ मिनेट नकुरेको भनी १०० प्रतिशत झूठो वक्तव्यबाजी गर्नु त दिउँसै रात पार्न खोजेकोजस्तो मात्र हो । यो बुद्ध एयरको गैरव्यवसायिक व्यवहार र जवाफदेही हुन नखोज्ने मनोमानीपूर्ण रवैयाको पराकाष्टा मात्र हो । 

६. बुद्ध एयरले राती ८:00 बजेपछि उडान गरेको थियो । सरकारका जिम्मेवार मन्त्रीलाई यस्तो व्यवहार गरेकोमा अझ बकवासपूर्ण वक्तव्य निकालेर आफैले ठीक गरेको भनेजस्तो गरी उल्टै सारा तथ्य र यथार्थमा पर्दा हाल्ने चेष्टा गरेको देखिँदा यो कतै नियोजित दुर्व्यवहार पो थियो कि भनेर शंका गर्नुपर्ने अवस्था सिर्जना भयो ।

७. म बुद्ध एयरले गरेको प्रगतिको खूलेआम नै प्रशंसक हुँ । तर यसअघि ४/४ घण्टासम्म पूर्वप्रधानमन्त्री र प्रदेश ५ का मुख्यमन्त्रीले काठमाडौं एयरपोर्टमा पर्खनु परेकोमा श्री बीरेन्द्रबहादुर बस्नेतजीलाई पहिलो खुलापत्र लेखी प्रविधिको पछिल्लो विकासको सदुपयोग गरेर लाभ उठाउन तथा नयाँ प्रबन्ध गर्न ध्यानाकर्षण गराएको थिएँ । तर त्यसको कुनै सुनुवाई भएन । २ गते भैरहवामा मन्त्री र ४ गते सुर्खेतमा अमेरिकी राजदूतलाई बुद्ध एयरले जुन व्यवहार गरेको छ, यो नियोजित र निन्दनीय छ । यसको छानविन गरी दोषीमाथि कारबाही गरिनुपर्छ । अन्यथा यो मनोमानी र अराजकता अझै बढ्न जानें निश्चित छ । हवाई क्षेत्र संवेदनशील सेवा व्यवसाय हो भनेर यसका संचालनकर्ताहरू बढी जवाफदेही हुनैपर्छ ।

८. मन्त्रीलाई भैरहवामा छाडेर हिड्ने बुद्ध एयरको व्यवस्थापनले भोलिपल्ट १ सिट मात्रै दिनसक्ने भनी अर्को आश्चर्यजनक रवैया देखायो । जबकि अघिल्लो दिन आफैले छाडेका यात्रु पहिलो प्राथमिकतामा लिनुपर्ने थियो । फलस्वरूप उहाँको टोली सौर्यं एयरको जहाजबाट ११:00 बजे मात्र काठमाडौं फर्किनु भयो । 

यस तथ्यको हेक्का राखेर जथाभावी सोसल र अन्य मिडियाले परपीडक व्यवहार नगरेकै उचित हुन्छ । यो मन्त्रीको पक्ष वा विपक्षमा उभिने बिषय होइन र खुच्चिङ गर्नुपर्ने कुनै आवश्यकता पनि छैन । उहाँले आफ्नोभन्दा काठमाडौँ-भैैरहवा-काठमाडौं उडानमा आफूले जस्तो अरू कसैले भोग्न नपरोस् भनेर नै सार्वजनिक जिम्मेवारीअनुरुप तथ्य प्रस्तुत गरी सबैलाई जानकारी गराउनु भएको मात्र हो ।बुद्ध एयरले माफी मागेर भविष्यमा यस्तो गल्ती नगर्नेसम्म नभनी प्रदर्शन गरेको दादागिरीशैलीको भर्त्सना गर्नैपर्छ । यसखाले यथार्थप्रति आखा चिम्लेर बुद्ध एयरको बदमासीलाई सही गरेको भनी दलाली गरेर रुवाबासी गर्ने र रोइलो मच्चाउनेहरुलाई रामराम मात्र भन्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७