प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासी जाँदै, यस्ता छन् कार्यक्रम


७ बैशाख २०७६, शनिबार
kp oli1 1

काठमाडौं, ७ बैसाख । प्रधानमन्त्री केपी ओली आज (शनिबार) बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने तीन कार्यक्रममा सहभागी हुने भएका छन ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ ।

kp oli1 1

सालिकको छेउमा ४२ फिट उचाइँको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ । विसं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिणतर्फ फर्काएर निर्माण गरिएको छ । सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन ।

कार्यक्रमको नेपाल टेलिभिजन, रेडियो नेपाल लगायतका सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । कार्यक्रम बुटवल उपमहानगरपालिकाले आयोजना गरेको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा जिल्ला समन्वय समिति बर्दघाट सुस्तापूर्व नवलपरासीले आयोजना गरेको जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजै दिउँसो २.४५ बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७