रोजगारीका लागि भन्दै चेन्नई लैजाँदै गरिएका २८ बालकको उद्धार


७ बैशाख २०७६, शनिबार
chenni

गौशाला, ७ बैसाख । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ ।

चार वटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

chenni

ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए । सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले बताए ।

चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।
१५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये दलित समुदायका २३, चार जना यादव र एक जना मुस्लिम समुदायको रहेका छन् ।

बाल कल्याण समितिले ती बालकलाई जनकपुर लगेको छ । चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७