२३ जनाको ज्यान लिएको ‘राम्री मोड’ काट्न राप्ती राजमार्ग २५ गतेसम्म बन्द


७ बैशाख २०७६, शनिबार
ramri

दाङ, ७ बैसाख । आज (शनिबार) देखि राप्ती राजमार्ग वैशाख २५ गतेसम्म दिनभरजसो बन्द गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांश समय बन्द हुने जनाइएको छ । राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका प्रोप्राइटर दिपक न्यौंपानेले कटिङको काम हुँदा सम्भावित जोखिमका कारण सडक खण्ड आंशिक रूपमा सञ्चालन गरिने जानकारी दिएका छन् ।

ramri

न्यौपानेका अनुसार शनिबारदेखि बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्ड बन्द गरिने भएको छ । गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको मोडबाट पटक–पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न टेण्डर आह्वान गरिएको थियो ।

यही ठाउँमा पुस ६ गते भएको बस दुर्घटनामा परी घोराहीमा अध्यनरत १९ विद्यार्थी, २ शिक्षक र चालक – सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्योबारे बुझ्न छानबिन समिति गठन गरेको थियो ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटक–पटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो ।

यही भिरबाट पछिल्लो चैत मध्यतिर ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको थियो । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि टुक्रा–टुक्रा भएको थियो । राम्री भिरमा विगतका वर्षमा एउटा मोटरसाइकल र एउटा ट्याक्टर पनि दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७