राराताल नजिकै १५ करोड बढी लागतका ६० कोठे तीन रिसोर्ट


७ बैशाख २०७६, शनिबार
Rara tal

रारा, ७ बैसाख । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ ।

बर्षेनी हजारौं पर्यटक रारा घुम्न आउने गरे पनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो ।

Rara tal

१५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए ।

रारा विमानास्थल नजीकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका लागि तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ ।

विशेष गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्ट निर्माणका लागि शिलान्याससमेत गरिएको सञ्चालक शाहले जानकारी दिए ।

जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै नेपालको रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गए पनि यहाँ राम्रो बास र खानाको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नु परेको थियो ।

हाल ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सयसम्म ग्राहक धान्न सक्ने क्षमता रहेको छ । स्थानीयवासीले रारा तालको छेउमा रहेका डाँफे होटल र भिलेज हेरिटेज रिसोर्टले राराको वातावरण प्रदूषण बढाएको भन्दै पटक–पटक होटलहरू तालबाहिर सार्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७