दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो यस्ता ‘खतरनाक’ विष्फोटक पदार्थ


७ बैशाख २०७६, शनिबार
dilli

धनगढी, ७ बैसाख । भारतको नयाँदिल्लीबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बसबाट ठूलो मात्रामा विष्फोटक सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

dilli

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिएका छन् ।

शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यतिञ्जेलसम्म ती सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । त्यसैले बसलाई त्यहाँबाट जान दिइयो ।

तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटरलगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ । सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले पनि दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामाग्रीहरु सशस्त्र प्रहरी बलले बरामद गरेको जानकारी आफूले पाएको बताएका छन् । उक्त विष्फोटक कसले ल्याएको भन्नेबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७