२२ वर्षीया नेपाली चेली आकांक्षा गुरुङ बेलायतको काउन्सिलर पदको उम्मेद्वार, को हुन् आकांक्षा ?


७ बैशाख २०७६, शनिबार
aasha

काठमाडौं, ७ बैसाख । विदेशी भूमिबाट नेपाल चिनाउनेहरु धेरै छन् । यहि सूचीमा नेपाली चेली आकांक्षा गुरुङ पनि थपिएकी छन् । बेलायतमा रहेकी गुरुङ अहिले एकाएक चर्चामा आएकी छन् ।

बेलायतको बेलायतको स्थानीय तह निर्वाचनमा काउन्सिलर पदमा भिड्ने निश्चयसँगै आशाको चर्चा बेलायतमा मात्र होइन नेपालमा समेत एकाएक चुलिएको छ । गिल्डफोर्ड काउन्सिलको परब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेद्वार बनेकी छन् ।

a2 1

आकांक्षा लण्डनकै मर्टन काउन्सिलमा केहि वर्षअघि काउन्सिलर निर्वाचित स्व. गमबहादुर गुरुङकी कान्छी छोरी हुन् । सर्रे विश्वविद्यालयमा राजनीतिशास्त्रको अन्तिम वर्षमा अध्ययनरत उनी उक्त विश्वविद्यालयको लेबर समर्थक विद्यार्थीहरुको संगठनको निर्वाचित सहअध्यक्ष समेत हुन् ।

४ वर्षअघि लेबर पार्टीको सदस्यता लिएकी आकांक्षा त्यसयता पार्टीका विभिन्न कार्यक्रम तथा अभियानहरुमा सक्रिय छिन् । उनले लेबर पार्टीका सांसदहरुसँग मिलेर धेरै प्रोजेक्टहरुमा काम गरिसकेकी छन् ।

आकांक्षा उम्मेद्वार रहेको क्षेत्रमा यसअघि कञ्जरभेटिभ पार्टीकै वर्चश्व रहँदै आएको थियो । बेलायतमा बसेर नेपालको बेग्लै परिचय बनाउने ध्याउन्नमा रहेका आशाले भनिन्, ‘म लेबर पार्टीको प्रतिनिधिको रुपमा चुनावी मैदानमा जाँदैछु । मेरो विवेक, क्षमता र सामथ्र्यले भ्याएसम्म मेरो उम्मेद्वारीलाई न्याय दिने कोशिस गर्दै विदेशी भूमिबाट भए पनि नेपालको नाम राख्ने जर्मको गरिरहेकी छु ।’

‘हामीले आफ्नो देश त बिर्सिनु हुँदैन नै, तर जुन ठाउँमा बस्छौं, त्यहाँको सभ्यता, संस्कृति सिकेर समायोजन हुन पनि सक्नुपर्दछ’, उनी थप्छिन्, ‘बेलायतमै जन्मिएका वा हुर्किएका म जस्तै धेरै नेपाली युवाहरुमा पनि यो एउटा समस्या नै छ । त्यसलाई हल गर्ने दिशामा म केहि काम गर्न चाहन्छु ।’

सो क्षेत्रमा कैयौं नेपालीहरु रहेको बेलायती सेनाको एक क्याम्प छ भने अरु केहि नेपालीहरुको पनि बसोबास छ । भविष्यमा राजनीति तथा मानवअधिकारकै क्षेत्रमा काम गर्ने लक्ष्य बनाएकी आकांक्षासँग ठूलो महत्वाकांक्षा र हिम्मत पनि छ । भन्छिन्, ‘म राजनीति वा मानवअधिकार जुनसुकै क्षेत्र भए पनि अन्तर्राष्ट्रिय तहमै क्रियाशिल रहन चाहन्छु । जसले गर्दा मैले योगदान दिन सक्ने क्षेत्र अझ बढि फराकिलो हुन सकोस् ।’

नेपालमा जन्मिएर ७ वर्षको उमेरमै बेलायत पुगेकी आकांक्षालाई बेलायतमा बस्ने नेपालीहरु बेलायती समुदायसँग समायोजन हुनु अनिवार्य देख्छिन् । यसका लागि आफ्नो उम्मेद्वारी र विजयले निकै महत्व राख्ने उनी बताउँछिन् ।

aasha

राजनीतिमा लागेर युवा, महिला तथा एथ्निक समुदायका सदस्यहरुको प्रतिनिधित्व गर्ने इच्छा आकांक्षाको छ । नेपालको राजनीतिलाई समेत नजिकबाट नियाल्ने गरेकी उनी विदेशमा बस्ने नेपालीको दोहोरो नागरिकताको अभियानमा समेत संलग्न हुँदै आएकी छन् ।

आफ्ना स्व. बाबुको बाटो पछ्याउँदै आकांक्षा राजनीतिमा सक्रिय बन्दै गर्दा उनको परिवारले पनि पूर्ण साथ दिएको छ । उनको परिवारसँग लामो समयदेखि नजिक रहेका चारभञ्याङ्ग तमु समाज यूकेका पूर्व अध्यक्ष तथा आइएनएस यूकेका वर्तमान अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ भन्छन्, ‘यति सानो उमेरमा आकांक्षाले गरेको प्रगति देख्दा हामी सिङ्गो परिवारले गौरव महसुस गरेका छौं । उनको राजनीतिक यात्रा अझै धेरै माथिसम्म पुगोस् भन्ने हाम्रो कामना छ ।’

आउँदो मे २ तारिखमा हुने निर्वाचनमा अल्डरसट र केन्टको मेडस्टोनमा समेत एक–एक नेपाली उम्मेद्वार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७