‘राजा’ बन्दै दयाहाङ


८ बैशाख २०७६, आईतवार
Dayahang Rai

काठमाडौं, ८ बैसाख । अभिनेता दयाहाङ राईका लागि गत वर्ष खासै उपलब्धिमुलक रहेन । गएको वर्ष उनी अभिनीत फिल्म ’भैरे’ र ’साइँली’ प्रदर्शनमा आएका थिए । तर, दुबैले बक्सअफिसमा सुनाउन लायक अंक जोड्न सकेनन् ।

’भैरे’ को तुलानामा ’साइँली’ ले केही राम्रो व्यापार भने गरेको थियो । उनको अभिनयलाई पनि दर्शक र समीक्षकले निकै प्रशंसा गरेका थिए ।

Dayahang Rai

यस वर्ष भने उनका ‘ब्याक टु ब्याक’ फिल्म रिलिज हुँदैछन् । उनको आउँदो जेठमा मात्र तीन फिल्म प्रदर्शनमा आउँदैछन् । जेठ ३ मा ’जात्रै जात्रा’, जेठ १० मा ‘दयारानी’ र जेठ २४ मा ‘आप्पा’ रिलिजका लागि तयार छन् । यस वर्षका लागि उनको चौथो फिल्मको रुपमा ‘निरफूल’ भदौ २७ मा रिलिज हुँदैछ ।

यस वर्ष उनलाई फिल्ममा अभिनय गर्न पनि भ्याई नभ्याई हुने देखिएको छ । केही हप्ता अगाडि मात्र उनले ’लप्पन छप्पन २’ साइन गरेका थिए । बैशाख अन्तिमबाट ‘कबड्डी ३’ सुरु गर्दैछन् । सम्भवतः उनले यसै वर्ष ‘सेतो सूर्य’ निर्देशक दीपक रौनियारले निर्देशन गर्ने नयाँ फिल्म ‘राजा’ पनि गर्नेछन् । यसमा उनी अनुबन्ध भइसकेका छन् ।

दीपक र दयाबीच यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ मा टिमअप भएको थियो । अहिले फिल्म ‘राजा’ को स्क्रिप्ट निर्देशक दीपकले लेखिरहेका छन् । फिल्मलाई निर्देशक तथा निर्माता रामबाबु गुरुङले निर्माण गर्नेछन् । फिल्ममा दयाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । फिल्म पल्टिकल ड्रामामा निर्माण हुने बताइएको छ ।

बक्सअफिसमा उम्दा व्यापार नगरे पनि समीक्षकले ‘सेतो सूर्य’ दयाहाङको करिअरको उत्कृष्ट फिल्म भनेका थिए । यो फिल्ममा उनको अभिनय तारिफयोग्य थियो । उनी स्वयम् पनि यो फिल्मलाई आफ्नो करिअरको उत्कृष्ट फिल्मको रुपमा लिन्छन् । यस फिल्मले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । अझै पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७