ट्रेड युनियन नेतालाई हिमाल आरोहणको अवसर


९ बैशाख २०७६, सोमबार
punya dhakal

पत्रपत्रिकाबाट

काठमाडौं, ९ बैशाख । कर्मचारी समायोजनमा सरकारको ताबेदारी गरी कर्मचारीलाई रुवाएबापत ट्रेड युनियनका नेताहरु यो बर्षको आकर्षक हिमाल आरोहणको लागि सिफारिस भएका छन् ।

आधिकारिक ट्रेड युनियनको लेटरप्याडमै अध्यक्ष पुण्यप्रसाद ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेललाई हिमाल आरोहणको लियाजो अफिसरमा पठाउनका लागि निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो । र, मन्त्रालयले पर्यटन विभागमा पठाई उनीहरुको नाम सर्वोच्च शिखर सगरमाथा आरोहण टोलीको लागि पठाउने निर्णय गरिसकेको छ । सगरमाथा आरोहणमा लियाजो अफिसर हुँदा कर्मचारीले आकर्षक भत्ता पाउने गर्दछन् । हिमाल आरोहण कर्मचारीको लागि आकर्षक मानिन्छ ।

अघिल्लो बर्ष ट्रेड युनियन कमजोर बनाएबापत तक्माबाट विभूषित भएका आधिकारिक ट्रेड युनियन अध्यक्ष ढकाल र उपाध्यक्ष पोखरेल यो बर्ष हिमाल आरोहणका लागि सिफारिस भएका हु्न् । सगरमाथालगायत हिमाल आरोहण गर्ने पर्यटकको लियाजो अफिसरका रुपमा कर्मचारीलाई पठाइन्छ । लियाजो अफिसरको लागि पहिलो प्राथमिकता पर्यटन मन्त्रालयका कर्मचारीले पाउँछन् । त्यसपछि अरु कर्मचारीलाई निश्चित मापदण्डका आधारमा मात्र छनोट गरिन्छ । तर यो बर्ष पहिलो प्राथमिकता आधिकारिक ट्रेड युनियन नेताले पाएका छन् । कर्मचारी समायोजनमा सरकारको अन्धभक्ति गरी कर्मचारीको मन दुखाएबापत पर्यटन मन्त्रालयबाट ढकाल र पोखरेलको नाम सिफारिस भएको स्रोतले बताएको छ ।

सगरमाथा आरोहणको टोलीमा परेका उनीहरुलाई बढी भन्दा बढी सुविधा दिनका लागि पर्यटन मन्त्रालयको संयन्त्र नै लागेको छ । ट्रेड युनियन उपाध्यक्ष भोला पोखरेलले पर्यटन विभागमा आफ्नै नातेदार उपसचिव मिरा आचार्यलाई महत्वपूर्ण मानिने प्रशासन शाखाको निर्देशकमा प्रतिष्ठापित गराएका छन् ।

त्यही कारण पनि उनीहरुलाई बढीभन्दा बढी सुविधा दिलाउन संयन्त्र नै लागेको छ । नियम अनुसार लियाजो अफिसर हिमाल आरोहण टोलीसँगै हुुनुपर्छ । तर कर्मचारीहरु एकपटक पुग्ने र भत्ता पचाउने काममात्र गर्दैआएका छन् । जसका कारण लियाजो अफिसरको ब्यवस्थाप्रति नै प्रश्न उठ्दैआएको छ ।

ट्रेड युनियनका नेताहरु भत्ताकै लागि जाने भएकाले उनीहरुले नियम पालना गर्ने संभावना नै नभएको विभागका एक अधिकारी बताउँछन् । हिमाल आरोहण एक अवसर भएकाले एकपटक गइसकेकाले नपाउने ब्यवस्था छ । समानुपातिक ढंगले अवसर पाउनुपर्नेमा कुनै कर्मचारीले एकपटक पनि हिमाल आरोहणमा जान नपाउने तर ट्रेड युनियनका नेताले पटक पटक अवसर पाउने हुँदैआएको छ । अध्यक्ष ढकालको अहिलेसम्मको गणना गर्दा पाँचौं पटक भइसकेको छ भने उपाध्यक्ष पोखरेल तेस्रो पटक सगरमाथा जान लागेका हुन् ।

ट्रेड युनियन नेताले पटक पटक हिमाल आरोहणको सुविधा पाउने तर कुनै कर्मचारीले एकपटक पनि नपाएकोबारेमा पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने–यो राज्य तपाईले पनि चिन्नुभएको छ, मैले पनि चिनेको छु । राज्यले नै प्रमोट गरेर उनीहरुलाई त्यो संगठनको नेता बनाएको हो । संगठनबाटै सिफारिस आएपछि मैले नपठाउँदा के होला ? मैले के गर्न सक्छु ? ’

‘हामीले एउटा संगठनलाई मात्र पठाएका होइनौं, सन्तुलित तरिकाले पठाएका छौं । संगठन, युनियन र राष्ट्रिय कर्मचारीका सबैलाई समावेशी ढंगले पठाएका छौं, मन्त्रालयकालाई पनि सन्तुलन मिलाउने कोसिस गरेका छौं’ महानिर्देशक घिमिरेले भने–चार नम्बरकोलाई पठाउन दबाब आउँछ, तर एक नम्बरमै सिफारिस भएकालाई नाम छनोट गरेका छौं । हाम्रो बाध्यता पनि बुझिदिनुपर्छ ।’

उनले नेतालाई प्रिभिलेज दिएको कुरालाई अन्यथा नबुझ्न पनि आग्रह गरे । पटक पटक अवसर पाएको कुरा हेर्नका लागि अभिलेख राख्नुपर्ने हो, १० बर्षको अभिलेख भए पटक पटक गइसकेकाले पाउँदैनस् भन्नुहुन्थ्यो । अभिलेख पनि छैन । त्यसैले को कति पटक गयो भनेर पनि भन्न नसकिने अवस्था छ, महानिर्देशक घिमिरेले भने ।

एकपटक खुम्बु क्षेत्रमा पुगेपछि २ हजारदेखि २५ सय अमेरिकी डलर पाउने लियाजो अफिसरका लागि कर्मचारीबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ । लियाजो अफिसरका रुपमा यो मौसममा सगरमाथाको लागि सिफारिसमा परेका कर्मचारीले ७५ दिन खुम्बु क्षेत्रमै बस्नुपर्ने प्रावधान छ । ७५ दिन खुम्बु क्षेत्रमा बस्न ढकाल र पोखरेल सक्लान् वा बस्लान् ?

नियमनकारी निकाय वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु खुम्बु क्षेत्रमा बसे नबसेकोबारेमा अनुगमन गर्ला कि नगर्ला भन्ने जिज्ञासा सर्वत्र हुन थालेको छ । ढकाल र पोखरेल ७५ दिन खुम्बु क्षेत्रमा आरोहीसँग बस्लान् त भन्ने जिज्ञासामा पर्यटन विभागका महानिर्देशक घिमिरेले भने–‘हिमाल आरोहीसँग जाने लियाजो अफिसरले ३ महिना टोलीसँगै हुुनुपर्छ । हामीसँग सम्पर्कमा रहिरहनुपर्छ । एकाधपटक जातेआते गर्न सक्छन् ।’

खुम्बु क्षेत्रमा एक साता पनि नबसी साढे दुई लाख रुपैयाँ पचाउन पाउने वा जाँदै नगई गएको फर्जी बिल पेश गरेर भुक्तानी लिएका विवरण पनि सार्वजनिक भएका थिए । घुम्न पनि पाउने र साँढे २ लाख पनि आउने भएपछि आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल र उपाध्यक्ष पोखरेलले नै आसक्ति देखाएको आरोप छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घोक्र्याएर कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियनको नेतृत्वमा बसेर ढकाल र पोखरेलले सरकारको उक्त कदमलाई साथ दिएको आरोप छ । आम कर्मचारीहरुको हकहितका लागि लड्न बनाइएको आधिकारिक ट्रेड युनियन नेतृत्वले दुई अढाई लाख रुपैयाँका लागि र्याल चुहाएपछि कर्मचारीहरुबीच उनीहरुको लोभी चरित्र छताछुल्ल भएको छ ।

साँघु साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७