नेपाली स्याट-१ अन्तरिक्ष केन्द्रमा जोडियो


प्रकाशित मिति : April 22, 2019

काठमाडौं, ९ बैशाख । नेपालको भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफल भएको जानकारी गराएको छ ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्धय आभाष मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए ।

अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ । नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ ।

नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिए ।
विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्