कार्यक्रमको बीचमै किन बाहिरिए माधव नेपाल ?


९ बैशाख २०७६, सोमबार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

काठमाडौं, ९ वैशाख : सत्तारुढ सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विशेष दिन थियो । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवस तथा लेनिन दिवसको अवसर पारेर जिल्ला कमिटिहरुको एकता घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम १२ बजेदेखि सुरु हुने भनिए पनि निर्धारित समयभन्दा करिब एक घन्टा ढिलो सुरु भयो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली ढिलो आएको कारण कार्यक्रम ढिलो सुरु भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा लगायतका नेताहरु समयमै पुगिसकेका थिए ।

कार्यक्रममा उपस्थितहरु जिल्ला अध्यक्ष तथा सचिवहरु थाहा पाउन निकै हतारिएका थिए । तर, त्यो सूची सुरुमै घोषणा गरिएन । महासचिव विष्णु पौडेलले कार्यक्रम सुरु गरे । कार्यक्रम सुरु भएपछि कार्यालय सचिव समेत रहेका सांसद तथा नेता कृष्णगोपाल श्रेष्ठले जिल्ला कमिटीका अध्यक्ष र सचिवको सूची सचिवालय सदस्यलाई वितरण गरे ।

सूची पाए लगत्तै वरिष्ठ नेता नेपाल कार्यक्रम छोडेर बाहिरिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाषण गर्न रोष्टममा पुग्दै गर्दा नेता नेपाल बाहिरि सकेका थिए । नेता नेपाल बाहिरिए लगत्तै दर्शकदिर्घामा रहेका नेताहरुबीचमा मात्रै होइन सञ्चार माध्यममा समेत नेता नेपाल असन्तुष्ट भएर बाहिरिएको चर्चा भयो ।

तर, नेता नेपाल असन्तुष्ट भएर होइन पूर्वनिर्धारित कार्यक्रमहरुको कारण बाहिरिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । गौतमले भने, ‘एउटा पारिवारिक काम र त्यस लगत्तै उहाँको निर्वाचन क्षेत्र साँखुमा कार्यक्रम थियो । त्यही कार्यक्रमका लागि उहाँ निस्किनुभएको हो ।’

असन्तुष्ट भएर बाहिरिएको भन्ने हल्ला गलत भएको गौतमको भनाई छ । ‘निश्चित मापदण्ड र नीतिको आधारमा जिल्ला कमिटिहरु र अन्य संगठनहरुको एकता टुंग्याउनु पर्छ भन्ने उहाँको अडान रहिआएको थियो । मापदण्ड र नीतिका आधारमा भएको एकताप्रति उहाँ असन्तुष्ट हुने कुरै भएन,’ गौतमले भने । नेता नेपाल समयको बिषयमा निकै कडा नेता मानिन्छन् ।

नेता नेपालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम बारे महासचिव पौडेललाई अगाडि नै जानकारी दिएका थिए । आफू एक घन्टा बस्ने र त्यसपछि अन्य कार्यक्रममा जाने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७