आइजीपीको जिल्लाका एसपी किन तानिए ?


१० बैशाख २०७६, मंगलवार
sidibikram

काठमाडौं, १० बैशाख । राजनीतिक दलका नेतादेखि प्रहरी प्रशासनको संरक्षणमा मापदण्ड विपरीत संचालित हुने गरेका छन् । गोरखाको दरौंदी नदीदेखि तनहुँ र कास्कीको सीमा क्षेत्र कोत्रे बेलचौतारा क्षेत्रमा मापदण्डविपरीतका क्रसरहरु प्रहरी प्रशासनलाई महिनावारी घुस दिएर संचालन गरेका छन् ।

कोत्रे बेलचौतारा क्षेत्रमा संचालित क्रसरहरुले मापदण्ड पूरा गरेका छैनन् । यसरी क्रसरहरुसँग महिनावारी घुस लिएको खुलेपछि तनहुँका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले तानेको छ । र, तनहुँमा केही दिनअघि बढुवा भएका एसपी विनोद सिलवाललाई सरुवा गरिएको छ ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको पुख्र्यौली घर तनहुँको चुँदी हो । उनकै गृहजिल्लाको कोत्रे र बेलचौतारा क्षेत्रमा प्रकृतिको चरम दोहन बढेको गुनासोपछि उनले एसपी शाहलाई प्रहरी हेडक्वाटरमा तानेका हुन् । एसपी शाहले घुुमुवा प्रहरी प्रयोग गरी क्रसर ब्यवसायीबाट घुस असुली गर्दै मापदण्ड विपरीत संचालन गर्न छुट दिएका थिए ।

मापदण्ड विपरीतका क्रसर संचालनमा प्रहरीकै संरक्षण रहेको गुनासोपछि एसपीका घुमुवा सन्त रिमाललाई तानिएको थियो । आइजीपी सचिवालयका डीआइजी मनोज न्यौपाने प्रमुख रहेको सचिवालयको टोलीले सुरुमा रिमालसँग बयान लियो ।

रिमालले बयानमा क्रसर ब्यवसायीसँग मात्र होइन, ठेक्कापट्टा गर्ने ठेकेदारहरु र रिसिङमा गाई काट्नेहरुबाट पनि घुस असुली गरेको र त्यो सबै एसपी शाहकै निर्देशनमा गर्नुपरेको पोल खोलेपछि शाह तानिएका हुन् ।

केही महिनाअघि रिसिङमा गाई काटेको सूचना पाएपछि एसपी शाहले तिनै घुमुवा रिमाललाई पठाएका थिए । रिमालले गाई काट्नेहरुलाई पक्राउ नगरी संजायको त्रास देखाएर घुस असुली गरेको कुरा उनले बयानमा खुलाएको स्रोतले बताएको छ ।

तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजीत गरी निर्वाचित सांसद किसान श्रेष्ठ(कृष्णकुमार)सँग एसपी शाहको सुरुदेखि नै टसल थियो ।

आइजीपी खनालसँग राम्रो सम्बन्ध भएका सांसद श्रेष्ठले पटक पटक एसपी शाहको सरुवा गरिदिन भनेका थिए । तर आइजीपी खनालले केही त्रुटि नभएकाले सरुवा गर्न सकिरहेका थिएनन् । उनी मौकाको खोजीमा थिए । मौका खोजी भइरहेका बेला गाईकाण्ड र क्रसर प्रकरण आएपछि उनले सजिलै तानेका छन् । एसपी शाहको विगत हेर्ने हो भने उनी डीएसपीको रुपमा नुवाकोटमा कार्यरत रहँदा तत्कालीन नुवाकोटका सीडीओ उमेश ढकालसँग मिलेर अवैध क्रसरहरुसँग कुस्त घुस असुली गरेको आरोप लागेको थियो ।

तत्कालीन एलडीओ नारायण रिसाल अवैध ढुंगा गिटी उत्खनन् रोक्न खोज्दा सीडीओ ढकाल र एसपी शाहले मनपरी स्काभेटर प्रयोग गर्न छुट दिएर करोड घुस असुली गरी सरुवा भएको स्रोतको दाबी छ । त्यसअघि कानुनी दृष्टिमा फरार पूर्वआइजीपी रमेश चन्दले शाहलाई प्रहरीको खरिद बिक्री हेर्ने प्रबन्ध शाखामा सरुवा गरे ।

त्यतिबेला खरिदबिक्रीमा ठेकेदारहरुसँग सेटिङ गरी कुस्त कमाए । र, डीएसपी हुँदै टोखा नगरपालिकाको त्रियोग स्कुल अगाडि धापासीमा आलिसान महल बनाए । डीएसपी हुँदै बंगलाका मालिक भएकोमा उनका ब्याचीहरु छक्क परे नै छिमेकीहरु डीएसपी हुँदा त यति धेरै कमाउँछन् नेपालमा भ्रष्टाचार कति हदसम्म रहेछ भन्दै टिप्पणी गर्दछन् ।

नुवाकोटको डीएसपीबाट काठमाडौं प्रहरी परिसरमा सरुवा भएका उनी जति कमाउाँदा पनि नपुगेर एउटा घुसकाण्डमा परे । त्यो घुसकाण्ड सार्वजनिक रुपमा आएपछि तत्कालीन उपेन्द्रकान्त अर्यालले छुटट्ै टोली बनाएर छानबिन गरे । छानबिनमा उनको त्रुटि देखिएपछि नसिहत पनि दिइएको थियो । प्रहरीका पूर्वएआइजी सुरेन्द्रबहादुर शाह तत्कालीन गृहमन्त्री जनार्दन शर्माका सल्लाहकार भएकाले उनकै दबाबमा निलम्बन हुनबाट रोकिएका थिए ।

निलम्बनै गर्ने गरी आचरण विपरीत काम गरेका तिनै शाहलाई सल्लाहकार शाहकै जोडमा एक नम्बरमा एसपीमा बढुवा गरिएको थियो । प्रहरीमा ३० बर्षे सेवावधिको प्रावधान कायम रहिरहे वा अरुले नउछिने उनी आइजीपी हुने नै हुनेछन् ।

उनी राष्ट्रिय अनुसन्धान विभागमा निवेदन लेखेर जागिरमा प्रवेश गरी जस्केलाबाट नेपाल प्रहरीमा छिरेका हुन् । शाहलाई तानिएपछि तनहुँको प्रहरी प्रमुखमा विनोद सिलवाललाई पठाइएको छ ।

यसैगरी गोरखाको दरौंदी नदीमा क्षेत्रमा मापदण्ड विपरीत ठेकेदार सुरेन्द्र कुँवरले ढुंगा, गिटी र बालुवा उत्खनन् गरिरहेका छन् । गोरखाली क्रसरका सञ्चालक कुँवरलाई नेकपाका सांसद चुडा खड्का र नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेको प्रत्यक्ष संरक्षण छ ।

कुँवरले नेताको आडमा सो क्रसर गैरकानुनी रुपमा संचालन गरिरहेका छन् । उनले काँग्रेस र नेकपाका नेता तथा सांसदलाई आर्थिक प्रलोभनमा पारी नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन छ । प्रहरीप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत कुँवरले मासिक दररेट तोकेर घुस बुझाएर निर्वाध नदी दोहन गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७