‘नेपाली स्याट-१’ ले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने, अहिले के गर्दैछ ?


१० बैशाख २०७६, मंगलवार
nepali satelite k

काठमाडौं, १० बैसाख । नेपालले पहिलो पटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ भू–उपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

यही वैशाख ४ गते प्रक्षेपित उक्त भू–उपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा ४० मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तर्राष्ट्रिय केन्द्र ‘सिग्नस’ मा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) प्रविधि संकायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

nepali satelite n

‘उक्त भू–उपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमिको उचाइमा रही अन्तर्राष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’, उनले भने–‘नास्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउण्ड स्टेसनका साथै जापानको ग्राउण्ड स्टेसनबाट संयुक्तरुपमा यस भू–उपग्रहले अबको करिब डेढ महिनापछि स्वतन्त्ररुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।’

वैशाख ४ मा अमेरिकाको भर्जिनियास्थित वाल्ओप्सदीप नासाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि ‘एनजी ११’ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ( वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे) प्रक्षेपण भएको थियो ।
सो भू–उपग्रहको आकार (१० सेमी गुणा १० सेमी गुणा १० सेमी) रहनाका साथै तौल (१.५ किग्रा) छ ।

भू–उपग्रहका नाम नेपालको नेपाली स्याट–१, श्रीलंकाको ‘रावन–१’ र जापानको ‘यूवुसु’ राखिएका छन् । सो भू–उपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्यांक व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् ।

नास्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो ।
जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) लाई उक्त तीन साना भू–उपग्रह निर्माणका लागि नमुना तथा सम्पूर्ण परीक्षण गर्न लगाइएको बताइएको छ । नेपाल सरकारले नेपालमा सन् २०१७ देखि उक्त कार्यक्रमको शुरुवात गरेको हो ।

नेपालले भू–उपग्रह निर्माणको काम गर्न सक्दैन भन्ने बुझाइ चिर्दै सकारात्मक सन्देश छाड्न सफल भएको नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिए । ‘वास्तवमा भू–उपग्रहले सबै काम गर्छ ।

तर, यो न्यानो स्याटलाइटले वातावरण परिवर्तन, सहरी क्षेत्र व्यवस्थापन, जनशक्ति निर्माण, शैक्षिक अध्ययन तथा अनुसन्धानमा जोड पुर्‍याउने छ’–ढुंगेलले भने–‘संयुक्त राष्ट्रसंघले भू–उपग्रह निर्माणका लागि नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई छात्रवृत्तिसहितको विभिन्न व्यवस्थापनमा सहयोग गरेर नेपाल विकासमा ठूलो टेवा पु–याएको छ ।’

नास्टले ‘ग्राउन्ड स्टेसन’ निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्नसक्ने छ । सो भूउपग्रहले एकपटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ ।

नास्टको ग्राउण्ड स्टेसनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ । सो भू–उपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । भू–उपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुने बताइएको छ ।

हालै प्रक्षेपित भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामरा जडान गरी दुईतर्फी सञचार गर्नका लागि लामो दूरीको तार जडान भएको नास्ट प्रवर्धन महाशाखा प्रमुख रमिला रावतले जानकारी दिइन् ।
‘भू–उपग्रहमा विद्युतीय प्रवाहको मार्ग निर्माणका लागि गम टाँस्ने परीक्षणको योजना अघि बढाएका छौं’–रावतले भनिन्–‘यसमा ६ वटा ब्याट्री जडान गरी अनुसन्धानात्मक भूउपग्रह निर्माण गर्न सफल भइएको छ ।’ विश्वमा लगभग ४० हजार न्यानो भू–उपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने वैज्ञानिकले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७