तीन दिनपछि इस्लामिक स्टेटले लियो श्रीलङ्कामा भएको आक्रमणको जिम्मा


१० बैशाख २०७६, मंगलवार
state

काठमाडौं, १० बैसाख । श्रीलंकामा ३२१ जनाको ज्यान जाने गरी आइतबार गराइएको बम विष्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

आईएसले आफूले विष्फोट गराएको कुनै आधिकारिक प्रमाण पेश नगरे पनि मंगलबार आफ्नो समूहको समाचार एजेन्सी एएमएक्यूमार्फत विष्फोटको जिम्मा लिएको छ । राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहका चर्च र होटलमा भएको विष्फोटमा परी ५०० भन्दा बढी घाइते भएका छन् ।

sab 1

श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध विष्फोटमा परि सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको हो ।

श्रीलङ्कामा आइतबार भएका विष्फोटनका घटनाहरुमा परी ३२१ जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाले मंगलबार दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेको सञ्चार विभागले जनाएको छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । चर्चमा विष्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा चर्चमा आइतबार भएका शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या मंगलबार मध्यान्हसम्म ३२१ जना पुगेको प्रहरीले जनाएको छ ।

श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।

स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हिड जमात यस विष्फोटनमा जिम्मेवार रहेको बताएका छन् । उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

घटनामा भारत, अमेरिका, बेलायत र जापानसमेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । सुरक्षाकर्मीहरुले राजधानीस्थित बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विष्फोटक पदार्थहरु फेला परेको जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७