अन्ततः महानगरपालिकाले फिर्ता लियो निजी विद्यालयमा बढाएको शुल्क


१२ बैशाख २०७६, बिहीबार
school fee

काठमाडौं, १२ बैसाख । हजारौं विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी काठमाडौं महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको छ ।

शुल्क वृद्धिको निर्णयको व्यापक विरोध भएपछि महानगरपालिकाले आफूले वृद्धि गरेको गरेको शुल्क वृद्धिको निर्णय खारेज गर्न वाध्य भएको हो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यसअघि फागुन २६ गतेको निर्णय खारेज गरेको छ । ‘विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति ’ले गरेको निर्णय खारेज गर्दै महानगरले आफ्नो बचाऊ गरेको छ ।

काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन–२०७५’ र ‘विद्यालय शिक्षा व्यबस्थापन नियमावली– २०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै शुल्क वृद्धिको निर्णय खारेज गरेको हो ।

हिलेसम्म नगर कार्यपालिकामा संस्थागत विद्यालयको शुल्क निर्धारण तथा पुनरावलोकनका लागि कुनै पनि प्रस्ताव नआएको महानगरपालिकाको भनाइ छ । संस्थागत बिद्यालयले शैक्षिक सत्र–२०७५ मा लिइएको शुल्क मात्र लिन पाउने मेयर शाक्यले बताए । संस्थागत बिद्यालयको शुल्कको वैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय शाक्यको भनाइ छ ।

‘विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले कार्यपालिकालाई छलेर निर्णय गर्‍यो । यस प्रकारका निर्णय खारेजी हुनुको बिकल्प छैन,’ महानगरको सामाजिक बिकास समितिका संयोजक मुकुन्द रिजालले भने ।

बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क एक हजार ६३० कायम गरेको थियो ।

यसरी गरिएको थियो शुल्क वृद्धि
गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो ।

शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १५७५, १९६९ र २३६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो ।

यसअघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १३५०, १८००, २२५० र २७०० रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो ।

त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बर्गका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २४५०, ३०६३ र ३६७५ रुपैयाँ थियो । यो शुल्क सम्बन्धि व्यवस्था साविक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७