टिक टकमाथिको प्रतिबन्ध फुकुवा


१२ बैशाख २०७६, बिहीबार
tiktok

काठमाडौं, १२ वैशाख । लोकप्रिय एप ‘टिक टक’ माथि भारतको मद्रास उच्च अदालतले लगाएको प्रतिबन्ध हटाएको छ । बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो ।

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनियाँ कम्पनी बाइट डान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला धक्का लागेको थियो ।

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । त्यसपछि सरकारले गुगल एप्पललाई आफ्नो एप स्टोरबाट टिक टक हटाउन अनुरोध गरेको थियो । सो बमोजिम गुगल एप्पलले टिक टक हटाएको थियो । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलोड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन, अदालतको आदेशपछि बाइट डान्सले पुनरावेदन गरेको थियो ।

साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन । अदालतको नयाँ आदेशपछि कम्पनीले खुशी व्यक्त गरेको छ । ‘हामी यो निर्णयबाट खुशी छौं । भारतमा टिक टकलाई धेरै माया गरिन्छ । अब थप प्रयोगकर्ताहरु यसमा आवद्ध हुने विश्वास लिएका छौं,’ कम्पनीका एक प्रवक्ताले भनेका छन् ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभर यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिक टकले भारतमा लगानी बढाउने तयारी गरिररहेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७