गाडी नै लिएर धर्म परिवर्तन गराउँदै हिंडेका दुई विदेशीसहित पाँच जना पक्राउ


१२ बैशाख २०७६, बिहीबार

दाङ, १२ बैसाख । गाडी नै लिएर धर्म परिवर्तन र प्रचारमा हिंडेका दुई विदेशीसहित पाँच जनालाई दाङमा पक्राउ गरिएको छ ।

bibal 1

शहरदेखि गाउँसम्म पसेर विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट दुई विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक (महिला) सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले छन् । उनीहरूलाई पक्राउ गरेपछि छुटाउन प्रहरीमाथि ठूलो दबाव आएको प्रहरीले जानकारी आएको छ ।

पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको एसपी पाण्डेले जानकारी दिएका छन् । ‘हामीले अमेरिकी नागरिकलाई उनको नेपाल भ्रमणको अनुमति पत्र रद्द गर्दै देश निकाला गर्न आग्रहसहित पत्राचार गरेको केही दिन बितिसकेको छ,’ एसपी पाण्डेले भने, ‘अध्यागमन विभागले के गरिरहेको छ त्यो भने हाम्रो जानकारीमा छैन ।’

पक्राउ परेका व्यक्तिका साथबाट बा १३ च ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेशिन, ल्यापटप, पेनड्राइभलगायतका सामग्री बरामद भएको एसपी पाण्डेले जानकारी दिएका छन् ।

उनीहरु एउटा उदेश्यले नेपाल आउने र नेपालका गाउँ गाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ । सर्वसाधारणको गुनासको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिहरुले धर्म परवर्तन गराउन विभिन्न प्रलोभन दिनुका साथै पैंसा समेत वितरण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

यसरी प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना क्रिश्चियनलाई पक्राउ गरेपछि उनीहरूलाई छाड्न भन्दै प्रहरीमाथि ठूलो दबाब आएको प्रहरी स्रोतले बताएको छ । ‘मन्त्रालयबाट फोनहरु आए’, एसपी पाण्डेले भने, ‘कल्पनै नगरेको ठाउँबाट पनि फोन आए ।

जिल्लाबाट निर्वाचित जनप्रतिनिधि र राज्यको महत्वपूर्ण जिम्मेवारीमा आसिन व्यक्तिबाट समेत दबाब आयो ।’ पक्राउ परेकामध्ये अमेरिकी महिला बाहेक तीन जना नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जवरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको एसपी पाण्डेले जानकारी दिएका छन् ।

अमेरीकी महिलाको हकमा भने उनको भिसा रद्द गरि सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको एसपी पाण्डेले बताएका छन् । भिसा रद्द गरेर पठाएमा फेरि कुनैप नि विदेशी नेपाल आउन नपाउने व्यवस्था रहेको एसपी पाण्डेले बताए ।

‘होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो,’ एसपी पाण्डेले भने ।

एसपी पाण्डेले क्रिश्चियनहरुलाई छोड्नका लागि सत्तासीन दलहरुकै हर्ताकर्ता मानिने व्यक्तिबाट आएको राजनीतिक दबाबलाई अस्वीकार गरेसँगै जिल्लाबासीले अब एसपीको सरूवा हुन्छ कि ? भन्ने हल्ला फैलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७