राज्यलाई जिस्काइरहेको दृष्य, अतिक्रमित खुल्लामञ्च (फोटो फिचर)


१३ बैशाख २०७६, शुक्रबार
Khulla manchha atikraman

काठमाडौं, १३ बैसाख । मुलुकको मुख्य प्रशासनिक अड्डा रहेको बालुवाटार विक्री भएको चर्चा चरमचुलीमा पुगिरहेका बेला राजधानीको मुटु मानिएको खुल्ला मञ्च समेत अतिक्रमण गरेर विक्री गरिएको रहस्य खुलेपछि आम नागरिक आश्चर्यमा परेका छन् ।


बढ्दो अव्यवस्थित बसोबासका कारण काठमाडौं उपत्यकामा स्वतन्त्र महसुस गर्दै खुल्ला रुपमा श्वास फेर्ने ठाउँ समेत मासिंदै गएको अवस्थामा एउटा मात्र रहेको खुल्ला मञ्च पनि विक्री भएको खबरले राजधानीबासी नराम्ररी बिच्किएका छन् । राज्यकै निकाय समेतको मिलिभगतमा ‘देखेको नदेख्यै’ रुपमा व्यक्तिले मनोमानी विक्री भइरहेको खुल्ला मञ्चको विषयले बिहीबार नेपालका सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नयाँ बहस नै सिर्जना गरायो ।

देश चलाउने अड्डाहरु रहेको सम्मानित स्थल सिंहदरबारको जग्गा विक्री भएको खबरले मन दुखाइरहेका राजधानीबासीले काठमाडौंको अर्को महत्वको स्थल खुल्ला मञ्च विक्रीको खबरलाई सुनेको नसुन्यै गर्न सकेनन् । फस्वरुप काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चै आफ्नै जसरी विक्री गरिएको भन्दै संरक्षण अभियन्ताहरुले बिहीबार सामाजिक सञ्जालहरुमार्फत विरोध मात्र ओकलेनन् सडकमै उत्रिएर विरोध जनाए ।


जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामको ठेकेदार कम्पनीले खुल्ला मञ्चको जग्गा आफ्नै जसरी विक्री गरिरहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले खुल्ला मञ्चको सार्वजनिक जग्गामा ४० सटर निर्माण गरिसकेको छ । एउटै सटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री भईरहेको छ ।

विल्डर्सका अनुसार खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको छ । वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा उठाए पनि कर नबुझाएको काठमाडौं महानगरपालिकाका एक अधिकारीले जानकारी दिएका छन् ।

खुल्ला मञ्च विक्रीको विरोधमा प्रदर्शनमा उत्रिएका संरक्षण अभियनताहरुले भेटवालको व्यक्तिगत स्वार्थका लागि २२ बैशाख ०७३ मा पुरानो बसपार्क खुलामञ्चमा सारिएको समेत आरोप लगाएका छन् । काठमाडौं महानगरपालिकाले भने सटर निर्माणका लागि भेटवालसँग कुनै शर्तनामा नभएको बताइरहेको छ ।

तर, एउटा व्यक्तिको संस्थाले काठमाडौंको मुटु मानिएको ठाउँमा यतिका सटर निर्माण गर्दा समेत महानगरपालिका मौन बस्नु र देखेको नदेख्यै गर्नु अर्थपूर्ण रहेको संरक्षण अभियन्ताहरु बताउँछन् । सामान्य रुपमा लिंदा पनि आफ्नो रेखदेखको खुल्ला मञ्चै कोही व्यक्तिले यतिका राज मच्चाइरहँदा महानगरपालिकाले नदेख्नु अनि देखेर पनि खुल्ला मञ्च अतिक्रमण, विक्री रोक्नु त कता हो कता खुल्ला मञ्च जोगाउनका लागि एक शब्द बोल्न पनि महानगरले मन नगर्नु अर्को आश्चर्य हो । यसैले त अहिले सर्वसाधरणको ब्रम्हले खुल्ला मञ्च विक्रीमा महानगरपालिकाको समेत ‘मिलिभगत’ बुझिरहेकोे छ ।

यता सामाजिक सञ्जाल अनि समाचारहरुमा खुल्ला मञ्च विक्रीको समाचार र सडक प्रदर्शन हुँदा समेत राज्य सरकारले खुल्ला मञ्च विक्री गर्नेमाथि तत्काल ‘एक्सन’ नलिनु पनि उदेकलाग्दो आश्चर्य छ । ऐतिहासिक र साँस्कृतिक महत्वको खुल्ला मञ्च जोगाउने कुरामा राज्यको जागरुकता पहिलो दायित्व र कर्तव्य हो ।

सर्वसाधरण नागरिकले समेत यति मिहीन रुपमा बुझिसकेको अतिक्रमण र खुल्ला मञ्च विक्रीको कथा राज्य र सरकारले नबुझ्ने भन्ने प्रश्न नै आउँदैन् । यसैले सरकारले अतिक्रमित खुल्ला मञ्च संरक्षणका लागि आवश्यक पहल आजैकै दिनमा शुरु गर्नुपर्ने राजधानीबासीको माग छ ।
बिहीबारको राजधानीबासीको स्वतःस्फूत विरोधपछि शुक्रबार भने खुल्ला मञ्चमा निर्माण भएका सटरहरु खुल्ला भएका छैनन् । तर, यो अवस्था एक वा दुई दिन मात्र होइन सदाका लागि हुनुपर्छ । अर्थात खुल्ला मञ्चमा निर्माण भएका सटरहरु विस्थापन गरी खुल्ला मञ्चलाई खुल्ला मञ्चकै रुपमा संरक्षित गरिनु पर्छ ।

यस्तो छ खुल्ला मञ्च अतिक्रमण र विक्रीको कथा
पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्यूटावर बनाउन भन्दै यो ठेकेदार कम्पनीले खुलामञ्चमाथि कब्जा जमाएको पाइएको छ । २२ फागुन ०७१ बाट काम शुरु गरेको बिल्डर्सले एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।

लगानीकर्ताले पैसा फिर्ता माग्न थालेपछि भेटवाल भ्यूटावर निर्माणका लागि पाँच वर्ष समय थप भएको झूठो प्रचार गर्दै हिंहिरहेको जानकार बताउँछन् । गत १० चैतमा बसेको महानगरपालिकाको बैठकले म्याद थपेको भन्ने भेटवालको दाबी छ । काठमाडौं महानगरपालिकाले भने भेटवालको दाबी सरासर झूठो भएको बताएको छ ।

महानगपालिकाकी उपप्रमुख हरिप्रभाव खड्गी (श्रेष्ठ) महानगरले भेटवालसँगै कुनै नयाँ सम्झौता नगरको जानकारी दिंदै भन्छिन्, ‘हामीले भ्यूटावर निर्माणका लागि एक दिन पनि म्याद थपेका छैनौं ।’

‘हामी आउनु भन्दा पहिलाको सम्झौता भएकाले रद्द गर्न सकेका छैनौं’ उपप्रमुख खड्गीले थपिन्, ‘तर म्याद थपेको भन्ने कुरा १०० प्रतिशत असत्य हो, काम छिटो सक्नु भन्ने निर्देशन दिने निर्णय गरेका हौं ।’

को हुन् भेटवाल ?
खुल्ला मञ्चको विवादमा मुछिएका भेटवालको विगत पनि विवादित नै रहेको देखिएको छ । उनलाई प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको भन्दै पक्राउ गरेको थियो । उनले तत्कालीन एपेक्स विकास बैंकबाट त्यहाँका कर्मचारीसँगको मिलोमतोमा कमसल जग्गा धितो राखेर बैंक डुबाएको खुलेको छ ।

एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्जर हुने सहमति भएपछि अनियमित तरिकाले कर्जा प्रवाह गरिएको थियो । एपेक्स बैंकको काठमाडौं दरबारमार्ग, भक्तपुरको लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जस्थित शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरेर एक अर्ब ५० हजार ९६ लाख ३३ हजार ९८४ रुपैयाँ घोटाला भएको थियो । यही घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भेटवाललाई पक्राउ गरेको थियो ।

विवादित छविका भेटवाललाई पछिल्लोपटक प्रभु बैंकले कालोसूचीमा राखेको छ । साँवा र व्याज तिर्न आनाकानी गरेपछि बैंकले भेटवालले धितो राखेको झापा सुरुङ्गको जग्गा र घर लिलामी गरेको थियो ।

यसअघि एनआईसी एसिया बैंकले पनि उनलाई कालोसूचीमा राखेको थियो । ऋण नतिरेपछि भेटवालको नाममा दर्ता भएको इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालिको चलअचल सम्पत्ति बैंकले जफत गरेको थियो । यो प्रालिले काठमाडौं उपत्यकामा आकाशे पुल निर्माण गरेको थियो ।

भेटवाल नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)को पनि कालोसूचीमा पनि छन् । बैंकले भेटवालको दमक–१७, झापास्थित कित्ता नम्बर ४८५ को जग्गा लिलामी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७