पूर्व सांसद साहको शिशु डेढ महिनादेखि अस्पतालमै अलपत्रै, किन लगिनन् आफैले जन्म दिएको शिशुलाई घरमा ?


१३ बैशाख २०७६, शुक्रबार
Gayatri shah

काठमाडौं, १३ बैसाख । पूर्व सांसद गायत्री साहले जन्म दिएको शिशुलाई डेढ ममिना पुग्दा समेत घर लगेकी छैनन् ।

साहले बच्चा घर लैजान अस्वीकार गरेपछि डेढ महिने शिशु अहिले अीपतालकै सघन कक्षमा छन् । अस्पतालको हेलचेक्र्याईका कारण शिशुमा ‘डाउन सिन्ड्रोम’ को समस्या भएको आरोप लगाउँदै पूर्व सांसद साहले बच्चा जिम्मा नलिएपछि शिशु डेढ महिनादेखि अलपत्र बनेका हुन् । ‘डाउन सिन्ड्रोम’ देखिएको अस्वस्थ शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच विवाद छ ।

gayatri with her Babay

फागुन २८ गते जन्मिएको शिशुलाई अहिले एनआइसियुमा राखेर उपचार गरिराखिएको छ । बालकको मुटु तथा फोक्सोमा समस्या छ । अक्सिजन र औषधिको सहारामा शिशुलाई सघन उपचार कक्षमै राखिएको हो ।

‘डाउन सिन्ड्रोम’ भएको पत्ता लागेपछि साहले अस्पतालको लापबाहीले अस्वस्थ बच्चा जन्मिएको भन्दै शिशुको जीवनभरको औषधि उपचार अस्पतालले व्यहोर्नुपर्ने अडान राखेकी छिन् । उनले सो ग्यारेन्टी अस्पतालले गरेपछि शिशुको जिम्मा लिने बताइरहेकी छिन् ।

‘यस्तो अस्वस्थ बच्चा जन्माउनुमा अस्पतालको दोष छ, यो स्वीकारेर अस्पतालले बच्चाको जीवनभर आइपर्ने औषधि उपचार गरिदिने बाचा गरेपछि मात्र म जिम्मा लिन्छु,’ साहले भनिन्, ‘बच्चा अस्पतालमा छोडेको हैन ।’

यसबीच, अस्पतालले शिशु डिस्चार्जका लागि वातावरण बनाई दिन ललितपुर महानगरपालिकामा चैत २९ गते निवेदन समेत दिएको थियो । दुवै पक्षबीच छलफल न्यायिक इजलासमा छलफल पनि भयो । तर, उक्त विषयमा दुवै पक्षबीच मेलमिलाप गर्न नसकिएको भन्दै नगरपालिकाले सो विषयमा थप निर्णय गर्ने क्षेत्राधिकार आफूसँग नरहेको बताएको छ ।

वैशाख ९ गतेको नगरपालिकाको निर्णयमा उल्लेख छ, ‘शिशुलाई डिस्चार्ज गरी जिम्मा लगाइदिन त्यस अस्पतालले दिएको निवेदनमा छलफल भए पनि दुई पक्षबीच मेलमिलाप गराउन सकिएन ।’

साहले स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल, ललितपुर प्रशासन, प्रधानमन्त्री कार्यालय, केन्द्रीय बालकल्याण समिति लगायतमा निवेदन दिएकी छिन्। १२ हप्तामै पत्ता लाग्नुपर्ने ‘डाउन सिन्ड्रोम’ जाँच गर्नुपर्नेमा अस्पतालले सो परीक्षण नगर्दा अस्वस्थ शिशु जन्मिएको दाबी साहको छ । अस्पतालले भने शिशुको अवस्था सामान्य भइसक्दा पनि साहले जिम्मा नलिएको बताएको छ ।

‘शिशु जिम्मा लिनुस् भनेर हामीले धेरैपटक अनुरोध ग¥यौं, नगरपालिकाबाट मेलमिलाप पनि नभएपछि अहिले शिशु अस्पतालमै छ,’ अस्पतालकी सूचना अधिकारी मन्जिता पोखरेलले भनिन्, ‘बाँकी केही कुरा अघि बढेको छैन ।’

साहले शिशुको जिम्मा नलिएपछि अन्यौल भएको उनले बताइन्। ‘यस्ता धेरै शिशु जन्मिन सक्छन्, उहाँको माग पूरा गर्दा नजिर बस्छ, उहाँको माग पूरा गर्न सम्भव छैन,’ उनले भनिन् ।

उनका अनुसार शिशु डिस्चार्ज गर्ने अवस्था हो । खतरामुक्त हो । ‘एनआइसियुमा राखिएको छ, त्यहाँ हुँदा दिइने साधारण उपचार भइरहेको हो,’ उनले भनिन् । साहले भने सघन कक्षमा राखेर अक्सिजन दिइराखेको शिशु कसरी खतरामुक्त हुन सक्छ भन्ने प्रश्न गरेकी छन् । शिशु खतरामुक्त हो भने वार्डमा सारेर हेरौं भन्ने हाम्रो भनाई छ । अस्पतालले त्यसो गर्न सकेको छैन ।

अस्पतालले शिशुको गर्भावस्थामा ‘डाउन सिन्ड्रोम’ परीक्षण गरेको थिएन । साधारणतया ३५ वर्षमाथिका महिला गर्भवती हुँदा शिशुमा ‘डाउन सिन्ड्रोम’ समस्या बढी देखिन सक्छ । साह गर्भवती हुँदा ३४ वर्षकी थिइन् ।

३५ वर्षभन्दा बढी उमेर भएकाहरूको मात्र परीक्षण गर्ने अस्पतालको नीतिअनुसार ‘डाउन सिन्ड्रोम’ परीक्षण नगरिएको डा. नीरासिंह श्रेष्ठ बताउँछिन् । ‘डाउन सिन्ड्रोम’ गर्भवती भएको १२–१५ हप्तामा पत्ता लाग्ने चिकित्सक बताउँछन् । ‘डाउन सिन्ड्रोम’ को अवस्था देखिए त्यस्तो शिशु नजन्माउन डाक्टरहरूले सुझाव दिने गरेका छन् ।

के हो ‘डाउन सिन्ड्रोम’ ?
क्रोमोजमोममा हुने असामान्य अवस्था डाउन सिन्ड्रोम हो । सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन् । २३ क्रोमोजोमको ठाँउमा थप क्रोमोजोम हुने भएकाले यसलाई ‘ट्राइजोमी क्रोमोजोम’ पनि भनिन्छ । यो वंशानुगत रोग पनि हो। परिवार कसैलाई भएको भए नयाँ बच्चामा पनि हुने सम्भावना हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७