नागरिकताबारे सर्वोच्चको अर्को आदेश, बंशजको आधारमा नागरिकता दिने कार्य रोकिए


१३ बैशाख २०७६, शुक्रबार
sarbocha adalat

काठमाडौं, १३ बैसाख । सर्वोच्च अदालतले बंशजको आधारमा नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको हो ।

देवको नेतृत्वले गैरकानुनी रुपमा नागरिकता वितरण गरेकाले रद्द गर्नु भन्ने फैसला कार्यान्वयन नभएकाले तत्काल वितरणमा रोक लगाउने राणा र भण्डारीको इजलाशले आदेश दिएको हो । तत्कालीन आयोगको सिफारिसमा ३४ हजार ९० जनालाई नागरिकता दिइएको थियो ।

उक्त समयको नागरिकता वितरणविरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको मुद्दामा सर्वोच्चले नागरिकता वितरण गैरकानुनी भन्दै रद्द गर्न र त्यसको विवरण पेस गर्न आदेश दिएपनि अदालतलाई अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

नागरिकता खारेज नहुँदै गृह मन्त्रालयले फेरि एक परिपत्र जारी गरी वंशजको नागरिकता वितरण गर्नु गैरकानुनी भएको रिटमा दाबी गरिएको थियो ।

तर एक साताअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलरअनुसार नागरिकता वितरण नरोक्नू भनेको थियो । त्यही आदेशलाई टेकेर देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरिरहेका छन् ।

तर, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनाारा नलागेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै आफ्नै अघिल्लो आदेश निष्क्रिय पारेको हो । प्रधानन्यायाधीश राणा र न्यायाधीश भण्डारीले दिएको आदेशमा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

२०५४ सालमा गठित सो आयोगले गरेको सिफारिसमा नागरिकता दिइएपनि आयोग भने असंवैधानिक भएको सर्वोच्च अदालतले २०५८ मा नै फैसला गरेको थियो । आयोग असंवैधानिक ठहर हुँदा पनि त्यतिबेला वितरण गरिएको नागरिकता अझै रद्द नगरिएको भन्दै दोस्रो मुद्दा सर्वोच्चमा दायर गरिएको थियो ।

गत चैत १९ गते गृहमन्त्रालयले परिपत्र गरेर नागरिकतासम्बन्धी कानून बनाउन संसदमा ढिलो भएको हुनाले अंगीकृत नागरिकलाई यही परिपत्रका आधारमा वंशजको नागरिकता प्रदान गर्नू भनेको थियो । तर संविधानविदहरुले गृहको परिपत्रका आधारमा नागरिकता वितरण गर्नु संविधान र कानुनविपरित हुने तर्क गर्दै आएका थिए ।

२०५४ साल र ०५८ सालताका गैरकानूनी आधारमा नागरिकता वितरण गरिएका सन्तानलाई नै अहिले वंशजको नागरिकता दिन लागिएको भन्दै त्यसलाई रोक्ने आदेश माग्र्दै कार्कीसहितले अदालतमा रिट दिएका थिए । कार्कीको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार विपक्षी समेतलाई झिकाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७