भारतबाट विष्फोटक वस्तु भित्रिन थालेपछि चोकजाँचमा कडाइ


१४ बैशाख २०७६, शनिबार
kanchanpur

कञ्चनपुर, वैसाख १४ । भारतबाट अवैध सामग्री भित्रिने क्रम बढ्न थालेपछि सुरक्षा चुनौती बढेको ठहर गर्दै भारतीय सीमा नाकामा चेकजाँच कडा पारिएको छ ।

कञ्चनपुरको गड्डा चौकी लगायतका नाकाबाट विष्फोटक पदार्थसहित अवैध सामानहरु भित्रिन थालेपछि प्रहरी र भन्सार कार्यालय चेकजाँचमा चनाखो बनेको हो ।

केही दिनअघि कैलालीमा भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद भयो । गड्डा चौकी नाका हुँदै भित्रिएको ना ५ ख ७२४५ नम्बरको बसलाई कैलालीस्थित सशस्त्र प्रहरी बल बेस क्याम्प डुँडेझारीले वैशाख ६ गते राति शंका लागेर चेकजाँच गर्दा सो सामान बरामद भएको हो ।

उक्त घटनापछि सीमानाकामा उच्च सुरक्षा सर्तकता अपनाइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नासु भैरवदत्त अवस्थीले बताएका छन् । नेपाल–भारत चल्ने मैत्री बसबाट एकातर्फ यात्रुलाई सहज भएको छ भने अर्कोतर्फ मानव बेचविखन तथा अवैध सामान ओसारपसारमा समेत पछिल्लो समय तिनै बसको प्रयोग बढी हुन थालेको छ ।

कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक ८ देखि १० वटा बस भित्रिने गरेको भन्सार कार्यालले जनाएको छ । जसमध्ये दुई वटा बस महेन्द्रनगर–देहरादुन चल्छन् भने चार वटा महेन्द्रनगर–दिल्ली रुटका छन् ।

यस्तै, बुटवल, काठमाडौं र पोखराबाट समेत गड्डाचौकी नाका हुँदै बसहरु दिल्ली जाने गर्दछन् । सीमानाकामा हुने चेकजाँचले अवैध सामान भित्रिन रोकिने र आफूहरुलाई पनि सुरक्षित अनुभूति हुने यात्रु बताउँछन् । तर, चेकजाँच गर्दा समयलाई मध्यनजर गर्दै छिटो गर्न सके आफूहरुलाई समेत सहज हुने उनीहको भनाइ छ ।

आधुनिक उपकरण नहुँदा परम्परागत तरिकाले चेकजाँच गर्नुपर्ने बाध्यता छ । जसले गर्दा चेकजाँचका लागि हातले नै झोलाहरु खोल्नुपर्ने भएकाले समय बढी लाग्नुका साथै यात्रुहरुलाई समेत असुविधा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७