अतिथि सत्कारमा भ्याई-नभ्याई ‘अन्तु’


१५ बैशाख २०७६, आईतवार
Beautifull Ilam सुन्दर इलाम श्रीअन्तु

इलाम, १५ बैसाख । इलामको कन्यामस्थित अन्तु कटेजका सञ्चालक राजन ताम्राकार पूरा निन्द्रा नसुतेको दुई महिना भईसक्यो । तर, कटेजमा पुग्ने कोही पनि अतिथिले ताम्राकारको अनुहारमा कुनै थकान र अनिन्द्रा भेटाउँदैनन् ।

पर्यटकलाई बसोबासको सुविधा दिइरहेको कटेजका ताम्राकार मात्र होइन उनका अन्य सहकर्मीहरुको दैनिकी पनि दुई महिनादखि उस्तै छ । राजनलगायत, हेमप्रसाद पौडेल, कमलप्रसाद घिमिरे र धरणीधर घिमिरेलाई अहिले घाम खसेदेखि राति १ बजेसम्म अतिथि सत्कारमा भ्याई–नभ्याई छ ।

Antu
अन्तुपोखरीको आकर्षण…। यहाँ अहिले पर्यटकलाई विचरण गर्नका लागि डुंगा सञ्चालनमा ल्याइएको छ ।

यी युवाहरुको संयुक्त लगानीमा सञ्चालित कटेजमा अहिले पर्यटकको चाप थामिनक्नु छ । अहिले अन्तुमा दैनिक ५ सय भन्दा बढी पर्यटक घुमफिरका लागि आइरहेका छन् । यी युवाको कटेजमा मात्र होइन अन्तुका विभिन्न घरमा सञ्चालित होमस्टेहरुमा पनि पर्यटक अटाई–नअटाई छन् । घुमफिर र सूर्योदय दृष्यावलोकनका लागि अनुकूल समय भएका कारण अहिले अन्तुमा पर्यटकको भिड लागिरहेको छ ।

फागुन महिना शुरु भएसँगै इलामका धेरै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्न थाल्छ । बसन्त ऋतुसँगै चियाका नयाँ मुना पलाउने भएका कारण पनि तराईको गर्मी छल्न इलाम जानेहरु धेरै हुन्छन् । युवा व्यवसायी रुद्र घिमिरेको होमस्टे केहि महिनायता कुनै दिन पाहुनाविहीन छैन । ‘पाँच देखि २५ जनासम्म पर्यटक दिनहुँ आइरहेका छन्’–उनले भने, ‘यो पटक पर्यटक धेरै आए ।’ यो वर्ष अन्तुडाँडामा सूर्याेदय हेर्न एकै दिन ६ हजारसम्म पर्यटक आएको घिमिरेले जानकारी दिएका छन् ।

Antu Viwe Tour
अन्तुस्थित भ्युटावरबाट सूर्योदय दृष्यावलोकन गर्दै आन्तरिक पर्यटकहरु ।

सूर्याेदय यहाँको प्रमुख आकर्षण हो । त्यसका साथै अन्तुडाँडा पुग्नेको मन लोभ्याउनेमध्येको एउटा त्यहाँको सुन्दर पोखरी हो । थुम्का–थुम्का चियाबारी र त्यसबीचको पोखरी । पोखरीको किनारमा रहेका सुरिला सल्लाका रुखहरुले पोखरीको थप सुन्दरता बढाएको छ । पोखरीको निलो पानीमा देखिने सल्लाको छाँयाले अन्तु पुग्ने जोकोहीको मन लोभ्याउँछ ।

हरियालीले उसै सुन्दर लाग्ने अन्तुको सुन्दरतामा पोखरीभन्दा केही माथि बनाइएको बाँसको स–साना र चिटिक्क परेको कटेजले अन्तुको मुहार नै उज्यालो बनाएको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यमा पर्ने अन्तु पुग्ने पर्यटकहरुलाई लक्षित गरेर इलामकै युवाहरुले कटेज सञ्चालनमा ल्याएपछि अहिले यो ठाउँ चलचित्र सुटिङ्गस्थलका रुपमा विकास भइरहेको छ ।

इलामका पाँच जना युवाले ३५ लाख लगानीमा कटेज सञ्चालनमा ल्याएपछि अन्तुमा पर्यटकको ख्वाई–बसाई समेत सहज बनेको छ । अहिले कटेजले रेस्टुरेन्ट र आवास दुवै सुविधा दिंदैछ । आवासकै व्यवस्थाका लागि उनीहरूले चियाबारीको बीच–बीचमा स–साना कटेज बनाएका हुन् । अहिले दुई रोपनीमा कटेज बनाइएको छ । बाँकी रहेको ६ रोपनी क्षेत्रमा ‘फार्म हाउस’ बनाउने उनीहरुको लक्ष्य छ ।

अन्तु आउने पर्यटकले त्यहाँस्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न छुटाउँदैनन् । यहाँका कटेज र होमस्टेमा बास बसेका आन्तरिक र वाह«य पर्यटक विहान झिसमिसेमा उठेर भ्युटावरबाट सूर्योदय हेर्ने गरेका छन् । वंगालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृष्य अलौकिक लाग्दो देखिन्छ । यहाँ आउने पर्यटकले लापोन्मुख लाप्चा जातिको संग्राहलयमा संकलित ऐतिहासिक हातहतियार, बाजागाजा, घरायसी प्रयोजनका सामग्री अवलोकन गर्न पाउँछन् । अन्तु लोपोन्मुख लाप्चा जातिको रहन–सहन, भाषा, भेष र सँस्कृति अध्ययन गर्नेहरुका लागि पनि उत्तम थलो हो ।

Hotel in antu
अन्तु कटेज

यस वर्ष अन्तुमा मात्र होइन कन्याम, पाथीभरा, माइपोखरी, माइमझुवा, टोड्के झरना, सन्दकपुरलगायतका पर्यटकीयस्थलहरुमा पर्यटकहरुको आगमन बाक्लो छ । इलामका यी पर्यटकीयस्थलहरुमा आन्तरिकसँगै भारत, वंगलादेश, पाकिस्तान र तेस्रो मुलुकका पर्यटक आउने गरेका छन् ।

अहिले माइपोखरी र सन्दकपुरमा वंगाली पर्यटक बढी आइरहेको जानकारी दिंदै माइमझुवाका होमस्टे सञ्चालक पुरन गुरुङ्गले भने–‘हिमाल हेर्न आउने पर्यटकका कारण सन्दकपुरका सबैजसो होटल बुकिङ्ग भइसकेका छन् । इलामको सबैभन्दा अग्लो तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरबाट कञ्चनजंघा, कुम्भकर्णलगायतका दर्जनौं हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ । दार्जिलिङ्गबासीलाई हिउँ हेर्न इलामको सन्दकपुरको विकल्प छैन ।

antu cottage 1
अन्तुपोखरी भन्दा केहि माथि युवाहरुले सञ्चालन गरेको अन्तु कटेज । युवाहरुको ३५ लाख सामुहिक लगानीमा कटेज सञ्चालन गरिएको हो ।

यो सिजन वनभोजको पनि हो । विभिन्न जिल्लाका विद्यार्थी, किसानलगायतको भ्रमण टोली समेत वनभोज नै खानेगरी आउने भएकाले इलामको कन्याम, अन्तुलगायतका क्षेत्रमा बाक्लै पर्यटक देख्न सकिन्छ ।

हरियो गलैंचा जस्तो चियाको बगानमा रमाउन पाउँदा आन्तरिक र वाह्य पर्यटन मरिहत्ते गर्ने गर्छन् । अहिले मेची राजमार्गको कन्याम खण्डमा वनभोज खानेको झुण्ड–झुण्ड देख्न सकिन्छ । कोही लाउडस्पिकरको गीतमा नाचिरहेका, कोही सेल्फी खिचिरहेको दृष्यले गाडीमा यात्रा गर्नेहरुलाई समेत एकछिन् भए पनि झरेर रमिता हेरौं जस्तो लाग्ने गर्छ । यहाँ दैनिक एक–डेढ सयको टोली वनभोज खानका लागि आउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७