सुनकोशी गाउँपालिकामा खानेपानीको चरम अभाव


१५ बैशाख २०७६, आईतवार
khanepani

काठमाडौं, १५ बैशाख । सुनकोशी गाउँपालिका क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । वर्षातमै पानी अभाव हुने सुनकोशी क्षेत्रमा हिउँदका वेला अधिकांश पानीका मुहान सुक्दा स्थानीयलाई खानेपानीको समस्या भएको हो ।

गाउँपालिका कार्यालयमै खानेपानी छैन । पानीको अभावमा कार्यालयको शौचालय दुर्र्गिन्धत छ । कार्यालयमा पानी अभाव हुँदा दैनिक कामकाजमै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताए ।

‘गाउँपालिका कार्यालयमै पानीको चरम अभाव छ भने स्थानीयबासीले पानीको कतिसम्म अभाव झेल्दै आएका छन् सहजै अनुमान गर्न सकिन्छ,’ सुन्दासले भने, ‘पानीको स्रोत पहिचान गरेर आगामी आर्थिक वर्षको बजेट खानेपानी आयोजना निर्माणमा खर्च गर्ने योजना बनाएका छौँ ।’ यतिवेला गाउँपालिकामा अन्य विषयभन्दा पनि खानेपानीको समस्या निकै चुनौतीपूर्ण देखिएको उनले बताए । ‘खानेपानी आयोजना निर्माणका लागि बजेटभन्दा पनि पानीको स्रोतको अभाव छ,’ उनले भने ।

वर्षातकै बेला पनि अभाव हुन्छ खानेपानी सुनकोशी क्षेत्रमा वर्षातको समयमा कम पानी पर्ने स्थानीय बताउँछन् । गाउँपालिकाको अधिकांश क्षेत्र उजाड छ । ‘वनजंगल नभएकाले पानीको स्रोतको संरक्षण हुन सकेको छैन’ ।

हिउँद लागेसँगै स्थानीयवासी ट्यांकरबाट ओसारेको पानी प्रयोग गर्न बाध्य छन् । बिपी राजमार्ग क्षेत्रमा खानेपानीको अझ ठूलो समस्या छ । राजमार्ग क्षेत्रका सर्वसाधारणदेखि व्यावसायीसम्मले ट्यांकरबाट ओसारेको पानी महँगोमा किनेर प्रयोग गर्दै आएका छन् । गाउँपालिकाको माथिल्लो महाभारत क्षेत्रका केही वडामा खानेपानीको स–साना स्रोत भए पनि तल्लो क्षेत्र अधिकांश सुक्खा भएकाले पानी अभाव हुने गरेको सुन्दासले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७