सगरमाथा सफाइ गर्दा भेटियो चार शव, तीन हजार किलो फोहोर संकलन

सगरमाथा सफाइका लागि जुट्यो दुई करोड बढी रकम


१५ बैशाख २०७६, आईतवार

काठमाठौं, १५ बैसाख । सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ ।

sagarmatha 3

सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् ।

पर्यटन विभागले आज पत्रकार सम्नेलन आयोजना गर्दै सफाइ अभियानमा १२ जना शेर्पाले फोहोर संकलन गरिरहेको जानकारी दिएको छ । सगरमाथा क्षेत्रको सफाइ र उद्धारमा संलग्न भएका अनुभवी १२ जना शेर्पाहरुले बेस क्याम्पदेखि साउथकोलसम्मको फोहोर संकलन गरिरहेको विभागले जानकारी गराएको छ ।

पर्यटन विभागका अनुसार क्याम्प २ मा ८ जना शेर्पाहरु सरसफाइमा सक्रिय छन् भने तीमध्ये तीन जना तलमाथि गर्ने र साउथकोलमा बसी फोहोर संकलन गर्ने योजनाका साथ १२ जना शेर्पा परिचालित छन् । उनीहरुले फोहोरदेखि मानिसको शव समेत संकलनमा सक्रिय छन् ।

अभियानबाट लुक्ला क्षेत्रदेखि फोहोर संकलनको शुरुवात गरिएको हो । सफाइ अभियानअन्तर्गत बेस क्याम्प र वरपरबाट करीब ५ हजार किलो, साउथ कोलबाट २ हजार किलो, क्याम्प २ र ३ बाट करिब तीन हजार गरी १० हजार किलो फोहोर संकलन गरिने लक्ष्य राखिएको छ ।

sagarmatha 1 1

सगरमाथाबाट संकलित फोहोरलाई जेठ १५ गते सगरमाथा दिवसको अवसरमा नाम्चेमा प्रदर्शनी गरी समापन गरिने बताइएको छ । त्यस्तै कानुनी रुपमा रिसाइकल गर्न मिल्ने फोहोरलाई काठमाडौं ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शनी गरी रिसाइक्लिङ गरिने छ ।

हालसम्म ३ हजार किलो फोहोर संकलन गरिएको छ । संकलित फोहोरमध्ये १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ भने २ हजार फोहोर ओखलढुंगामा राख्ने तयारी भएको छ । नेपाली सेनाको एम आई १७ हेलिकोप्टरले सगरमाथा क्षेत्रबाट उक्त फोहोर उठाएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको हो ।

सफाइका लागि दुई करोड बढी संकलन
हालसम्म सगरमाथाको सरसरफाइको लागि २ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । उक्त रकम ९ सरकारी तथा अन्य संघ–संस्थावाट संकलन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सूचना प्रवाह समितिका संयोजक एवंम पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार सगरमाथा सफाइको लागि वन तथा वातावरण मन्त्रालयले ५० लाख, कोकाकोलाले ५० लाख, खुम्बु गाउँपालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख, प्रदेश नम्बर १ ले २५ लाख, राष्ट्रिय प्रकृती कोषले २० लाख सहयोग उपलब्ध गराएका छन् ।

यस्तै नेपाल पर्वतारोहण संघले २० लाख, एनएमबी बैङ्कले १० लाख, भ्रमण वर्ष २०२० ले १० लाख, नविल बैङ्कले ५ लाख, प्रभु बैङ्कले ५ लाख, तारा एयरले ५ लाख र पर्यटन विभागले २ लाख रुपैयाँ आर्थिक सयोग गर्ने जानकारी गराएका छन् । तर उनिहरुले जनाएको प्रतिवद्धता अनुसारको रकम भने जम्मा भइसकेको छैन ।

सरकारी कार्यालयवाट जम्मा भएको रकम खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खातामा र अन्य संघ–संस्थाको रकम भने सगरमाथा प्रदुषण नियन्त्रण समितिको खातामा जम्मा गरिने घिमिरेले बताए । ४५ दिनसम्म सफाइ गर्न १२ जना मानिसहरु खटिएका छन् ।

सगरमाथा सफाइको लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सफाई अभियानमा रकम धेरै छुट्टै समिति बनाएर समितिको खातामा राखिने छ । अर्काे बर्ष सगरमाथा क्षेत्रमा नै रहेका अन्य हिमालहरुको सफाईका लागि उपयोग गर्ने तयारी गरिएको नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले जानकारी दिएका छन् । उद्धारमा नेपाली सेना, तालिम प्राप्त रेस्क्यू टोली र सेनाको हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७