मिटरब्याजी शाक्यलाई नायिका कार्कीले छुटाइन् ?


१६ बैशाख २०७६, सोमबार
kabin shyka

काठमाडौं, १६ बैशाख । पौराणिक ग्रन्थ महाभारतमा सकुनीले युधिष्ठिरलाई जुवामा छलकपट गरी हस्तिनापुर राज्य कब्जा गरेको बर्णन छ । त्यस्तै नेपालका क्यासिनोहरुमा जुवा खेल्न जानेले छात्तीमा मेसिन राखी छलकपटपूर्ण ढंगले जुवा जितेका छन् । एक महिनाअघि बेल्लिज क्यासिनोबाट यसैगरी मेसिन राखी छलकपटपूर्ण ढंगले करिब १ करोड रुपैयाँ जितेर भागेका भारतीय नागरिक लाक्पा शेर्पासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

विगतमा क्यासिनोमा जुवा हारेका नेपालीलाई मिटरब्याजमा पैसा लगानी गर्दैआएका विवादास्पद ब्यक्तिहरु पछिल्लो पटक भारतीय नागरिकलाई प्रयोग गरी छलकपटपूर्ण रुपमा जुवा जित्न मेसिनको प्रयोग गर्न थालेका छन् । भारतीय नागरिकको छात्तीमा एक मेसिन जडान गरी क्यासिनोमा पठाउने र त्यो मेसिनबाट भटाभट पचासौं लाख जित्ने गोरखधन्दामा विगतमा जुवा हारेकालाई लगानी गर्दैआएका मिटरब्याजी कविन शाक्य देखिएका छन् ।

प्रहरीका अनुसार छातीमा राख्नासाथ उक्त मेसिनले क्यासिनोमा तास खेल्दा जित्नका लागि आवश्यक तासको जोकर देखाउने गर्दछ । छात्तीमा राख्नासाथ नचाहिने तास भित्र जाने र चाहिने जोकर बाहिर निकाल्ने उक्त मेसिनले गर्दा लाक्पा शेर्पा र कविन शाक्यको टोलीले १० मिनेटमा बेल्लिज क्यासिनोबाट १ करोड जितेर हिंडेका थिए । क्यासिनोकै उजुरीका आधारमा १ करोड जितेर हिंडेका उनीहरु ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलबाट पक्राउ परेका थिए ।

मेसिन जडान गरेर क्यासिनोमा भारतीय नागरिकलाई पठाउने र उनीहरुले जितिसकेपछि गाडीमा हालेर उक्त रकम लिने गिरोहका मुख्य नाइके कविन शाक्य हुन् । तिनै शाक्यले यसैगरी मेसिन जडान गरी पठाइएका भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङलाई क्यासिनोबाट एक किसिमले लुटपाट गरेको करिब १ करोड रुपैयाँ रकम सहित ललितपुर प्रहरी परिसरले एक महिनाअघि पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट क्यासिनोबाट मेसिन जडान गरी छलकपट गरी जितेको ५० लाख रकमको चेक समेत बरामद गरेको थियो । ती भारतीय सहित कविन शाक्य पनि पक्राउ परेका थिए । तर उनी गाडी चालकको रुपमा मात्र गएको बहाना बनाई छुटेका थिए । तर क्यासिनोमा ती भारतीयलाई मेसिन राखी रकम दिएर जुवा खेल्न पठाउने उनै शाक्य भएको प्रहरी अनुसन्धानमा खुलिसकेको छ ।

पक्राउ परेका शेर्पा र बरामद रकमसहित ललितपुर प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दायरका लागि पठाइसकेको एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन् । क्यासिनोबाट रकम लुटेर भागेका उनीहरु भिभान्ता होटल झम्सिखेलमा पुगेका थिए । भिभान्तामा उनीहरुबीच आपसमै विवाद भयो ।

विवादले होहल्लाको रुप लिएपछि होटल ब्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई क्यासिनोबाट लुटेको रकम सहित पक्राउ गरेको थियो । क्यासिनोमा बैधानिक रुपमा जितेको खण्डमा प्रमाणपत्र दिन्छ, तर उनीहरुले मेसिन राखी लुटको शैलीमा जितेकाले क्यासिनोले प्रमाणपत्र नदिएकाले प्रहरीले उनीहरुलाई सम्पत्ति शुद्धिकरण विभागमा पठाएको जनाएको छ ।

प्रहरीले कविन शाक्यलाई पनि पक्राउ गरेको थियो । तर गाडी चालक भनेर उनी छुटेका थिए । उनले प्रहरी सेटिङ गरी छुटेको आरोप छ । क्यासिनोमा भारतीयलाई ठग्न पठाउने मिटरब्याजी कविन शाक्यलाई नायिका सुष्मा कार्की जमानी बसेर छुटाएर लगेकी थिइन् । धादिङ घर भएका कविन शाक्यकी जेठी श्रीमती जापानमा बसेर आर्जन गरेको करोडौंको सम्पत्ति उनले हडपेका छन् ।
को हुन् कविन शाक्य ?
कविन शाक्यको घर धादिङ हो । धादिङका उनी विगतमा क्यासिनोमा जुवा हारेकालाई १ लाखको दिनको १ हजारका दरले मिटरब्याजमा लगाउने गर्दथे । क्यासिनो हारेका ब्यक्तिको गाडी र घरको पूर्जा लिएर उनले कौडीको मूल्यमा आफ्नो नाममा पास गर्न लगाउँदै हडप्ने गरेका थिए ।

उनले त्यसरी हडपेका गाडी तेज एण्ड करण इन्टरप्राइजेजमा दिने गरेका छन् । सेकेन्डह्यान्ड गाडी बिक्री गर्ने तेज एण्ड करणमा उनले १० वटा भन्दा बढी गाडी बिक्री गरेको स्रोतले बताएको छ ।

पैसाको लागि गुण्डागर्दी गर्ने र मिटरब्याजको धन्दा गर्नेहरुको अकूत सम्पत्तिको स्रोतका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी र अपराध अनुसन्धान महाशाखाले छानबिन गरेको थियो । सीआइबीले राजधानीका अधिकांश गुण्डाहरुले अवैध कामबाट अकुत सम्पत्ति आर्जन गरेको प्रमाणसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा दायर गरेको थियो ।

सीआइबीले पाँच ठूला डनको अकुत सम्पत्ति खोजेर मुद्दा चलाउने क्रममा कविन शाक्य पनि त्यसमा थिए । तर मिटरब्याजदेखि गुण्डागर्दीबाट अथाह सम्पत्ति आर्जन गरेका कविन शाक्यले प्रहरीलाई प्रभावमा पारी मुद्दा दर्ता हुनबाट रोक्न सफल भएका थिए ।

सीआईबीले मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेडाई, तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ लगायतको अबैध सम्पत्तिमाथि छानविन थालेको थियो । तर पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरियो ।

कविन शाक्यबिरुद्ध मुद्दा दर्ता गरेको थिएन । मिटरब्याजमा पैसा लगानी गर्ने कविन शाक्यलाई त्यतिबेला प्रहरीकै एक तप्काले सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा नहाली उन्मुक्ति दिएको थियो ।

उनी पछिल्लो समय मिटरब्याजका अलावा क्यासिनोमा लुटपाटमा सक्रिय लागेको भिभान्ता होटलमा पक्राउ परेपछि पुष्टी भइसकेको छ । भारतीयलाई उनैले पैसा दिएर क्यासिनोमा पठाएका थिए । र, आफू पनि पछि युवती बोकेर जान खोज्दा सुरक्षागार्डले उनलाई रोकेका थिए । यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७