अज्ञात तीनपुस्ते रोगले समाल परिवार पीडित, दुईको मृत्यु, नौ जना सिकिस्त


१६ बैशाख २०७६, सोमबार
udayapur

उदयपुर, १६ बैशाख । उदयपुरको मध्यपहाडी रौतामाई –६ को नामन्तमा एकाघर परिवारका दुई जनाको अज्ञात रोगका कारण मृत्यु भएको छ भने नौ जना सिकिस्त बिरामी परेका छन् ।

पाँच वर्षदेखि शरीर काम्ने, हल्लिने र हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका तीन घर परिवारका श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ । अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवार नै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताए । पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदा समेत रोग पत्ता लगाउन नसकिएको छिमेकी कृष्नबहादुर बताउँछन् । अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने होइन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको गणेशबहादुर मगर बताउँछन् ।

शुरुमा पाँचवर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले जनाए । दुर्गाबहादुर मलेसियाबाट घर फर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्षअघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगरको भनाइ छ

त्यसपछि दुर्गाबहादुर मगरको श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको थीयो । एक वर्षमा अम्बिकाको पनि मृत्यु भएको होे । अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौ जना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् । यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ । समाल परिवारका सबै दाजुभाइका सन्तान यो अज्ञात रोगबाट ग्रसित बन्दै गएपछि स्थानीय छिमेकी तथा नातागोताले उनीहरुको सेवा गरिदिने खाना पकाएर खुवाउनेदेखि सम्पूर्ण काम गरिदिने गरेको स्थानीय छिमेकी पार्वती मगरले बताइन् ।

समाल परिवारको बिरामीलाई उपचारको लागि अहिले जिल्ला अस्पताल गाईघाट हुँदै विराटनगरका विभिन्न अस्पतालमा लगेर उपचार गराए पनि रोग पत्ता लगाउन नसकिएको र उपचार समेत हुन नसकेपछि स्थानीवासी तथा उनीहरुका नातागोता समेत दुःखी र अचम्मित बन्न पुगेका छन् ।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तान नै अज्ञात रोगको कारण पीडित बन्दै गएपछि अहिले नामन्तका समाल परिवारको वंश नै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताइन् । यसतर्फ समयमा नै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र जनप्रतिनिधिको उचित ध्यान जानुपर्ने र अज्ञात रोगको विषयमा पनि गम्भीर अनुसन्धानको लागि राज्यको तर्फबाट नै पहल थालिनुपर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् ।

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने होइन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगर बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७