सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि ‘गुल्जार’ बन्दै गाउँ


१६ बैशाख २०७६, सोमबार
sarkari

गलेश्वर, १६ बैसाख । मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ ।

स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।

दुई वर्ष अघिसम्म भाडामा कोठा पाइनसमेत हम्मेहम्मे पर्ने बेनी बजारमा अहिले कैयौं घर रित्ता भएका छन् भने सटर खालीखाली छन् । मानिसको चहलपहल घटेसँगै बेनी बजारमा सञ्चालित व्यवसायले दैनिक गर्ने लाखौंको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार सुनसान जस्तै हुन थालेको छ ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै त्यहाँ विकाससँगै रौनक बढेको छ । ५० मिटर पाइपका लागि सिफारिस लिन सदरमुकाम धाउनुपर्ने बाध्यताको अब अन्त्य भएको छ’, बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘अब स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।’

सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन, सङ्घीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमङ्ग छाएको पाइन्छ । गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसाय मात्रै होइन, सरकारी अड्डासमेत विगतको तुलनामा अहिले सुनसान देखिन थालेको छ ।

जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ । सङ्घीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवत जावतमा कमि आएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव लीलाराम गौतमले बताए । अहिलेसम्म उद्योग धन्दा निरन्तर चले पनि व्यापारमा भने निक्कै कमि आएको महासचिव गौतमको बुझाइ छ ।

ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरीदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइन थालेका छन् । यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता सङ्घीयता कार्यन्वयनसँगै टरेको छ ।

स्थानीय तहमा सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँबस्तीमा चहलपहल देखिन थालेका हुन । लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए ।

निर्वाचनपछि स्थानीय तहका कामकाज चुस्तसमेत देखिन थालेका छन् । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकामतर्फ लाग्ने सेवाग्राहीको भीड आजभोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् ।

सदरमुकामको घट्दो चहल पहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी, होटलजस्ता व्यवसाय भने सङ्कटमा परेका छन् । बरु स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन् । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय सदरमुकाम क्षेत्रका जग्गाको मूल्य पनि आकासिएको छ । म्याग्दीका दरवाङ, तातोपानी जस्ता स्थानीय बजार अहिले चम्किएका छन् ।

ससदरमुकाम केन्द्रित राजनीति व्यापार वा जागिरमा लागेका अधिकांश मानिस अहिले आ–आफ्ना स्थानीय तहमा स्पेस (ठाउँ) बनाउन खोजिरहेका छन् ।

सङ्घीयताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेहरुको चाप घटेपनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवा पूर्णतः स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसको संख्या चर्चा गरे जस्तै नघट्ने बताउँछन्, म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनकुमार विश्वकर्मा । बेनीबजार मुक्तिनाथ प्रवशद्वार, धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले स्थानीयवासीको अभाव पर्यटक भित्र्याएर पूरा गर्न सकिने उनको बुझाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७