अहिले संसारमा ‘नाति-नातिनीभन्दा बाजे-बजै धेरै’, यसले तपाईलाई कसरी पार्छ प्रभाव ?


१६ बैशाख २०७६, सोमबार
sudi

काठमाडौं, १६ बैसाख । इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसंख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसंख्या भन्दा ६५ वर्ष माथिका वृद्धको संख्या धेरै भएको जनाइएको छ । अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको संख्या ६८ करोड रहेको छ ।

बढ्दो अन्तर
यही प्रवृत्ति कायम रहने हो भने सन् २०५० सम्ममा यो अन्तर झन् बढ्दै जानेछ । त्यतिबेला भर्खर जन्मेदेखि चार वर्ष उमेर समूहको एक व्यक्ति बराबार दुई जनाभन्दा बढी ६५ वर्ष माथिका व्यक्तिहरू हुनेछन् ।

mother

जनसंख्याविद्हरूले दशकौंदेखि राख्दै आएको अभिलेखले एउटा प्रवृत्ति देखाउँछ–सबैजसो मुलुकमा हाम्रो बाँच्ने उमेर लम्बिँदै गएको छ र आवश्यक संख्यामा बच्चा जन्माउन छोडेका छौं । विश्वव्यापी प्रजनन दर सन् १९६० मा प्रतिमहिला पाँच जनाबाट घटेर २.४ पुगेको छ ।

आवश्यक भन्दा कम ‘आगमन’
वाशिङ्टन विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू विश्लेषण गर्ने निकायका निर्देशक क्रिस्टोफर मुरेले बीबीसीलाई भने, ‘अब निकै कम बच्चाहरू हुनेछन् र धेरै मानिसहरू ६५ वर्ष माथिका हुनेछन् जसले विश्वव्यापी रूपमै सामाजिक कठिनाइ उत्पन्न हुनेछ । सन् २०१८ मा प्रकाशित उनको एउटा लेखमा संसारका आधा जति मुलुकले बच्चा कम हुने समस्या भोगेको बताइएको थियो । यसको अर्थ हुन्छ जनसंख्या स्थिर कायम राख्न आवश्यक बालबच्चा कम भएका छन् ।

graph

उनी भन्छन्, ‘नाति नातिनीभन्दा बाजे बजै धेरै भएको समाजको सामाजिक र आर्थिक प्रभावबारे एक पटक विचार गरौं न ।’ विश्व ब्याङ्कका अनुसार सन् १९६० मा एक महिलाले सरदर पाँच बच्चा जन्माउँथिन् । झण्डै ६० वर्षपछि अहिले त्यो आधामा पुगेको छ । अहिले एक महिलाको भागमा सरदर २.४ बच्चा पर्छन् ।

यसै समयावधिमा आर्थिक सामाजिक विकासका कारण यो संसारमा जन्मने मानिसहरूले निकै फाइदा पाएका छन् । सन् १९६० मा मानिसहरूको औसत उमेर ५२ वर्ष भन्दा केही बढी थियो जबकि सन् २०१७ मा त्यो औसत उमेर ७२ वर्ष पुगेको छ ।

त्यसको अर्थ हामी सबैको उमेर लम्बिएको छ र जति बूढो भयो त्यति बढी स्रोत उपयोगको माग बढ्दै गएको छ । उदाहरणका लागि पेन्सन र स्वास्थ्य प्रणालीमा बूढाबूढी धेरै भएका कारण दबाव बढ्दो छ ।

पाका मानिसहरूको संख्या
विकसित मुलुकमा वृद्धवृद्धाहरूको संख्याको समस्या अझ टड्कारो देखिएको छ । त्यहाँ जन्मदर अझ कम छ र त्यो आर्थिक सम्पन्नतासँग जोडिएको छ । बालमृत्युदर कम छ र जन्म नियन्त्रण गर्ने उपायमाथि सजिलो पहुँच छ । बच्चा हुर्काउने काम तुलनात्मक रूपमा महँगो हुन सक्छ । त्यस्ता मुलुकहरूमा महिलाहरू अलि परिपक्व उमेर भएपछि बच्चा जन्माउँछन् त्यसैले बच्चा पनि थोरै मात्र जन्माउँछन् ।

father

जीवनको गुणस्तर राम्रो हुनुको अर्थ यी देशहरूमा मानिसहरू ‘लामो उमेर’ सम्म बाँच्छन् ।
एउटा प्रमुख उदाहरण जापान हो जहाँ औसत उमेर ८४ छ । यो संसारको सबभन्दा ठूलो (राष्ट्रिय औसत) संख्या हो । सन् २०१८ मा ६५ वर्षमाथिका मानिसहरूको संख्या जापानमा २७ प्रतिशत थियो जुन विश्वकै सबभन्दा ठूलो संख्या हो । जापानमा पाँच वर्षमुनिको जनसंख्याको अनुपात कस्तो छ त ? संयुक्त राष्ट्र सङ्घका अनुसार कुल जनसंख्याको जम्मा ३.८५ प्रतिशत मात्रै ।

यो दोहोरो चुनौतीले जापानी अधिकारीहरू दशकौँदेखि पिरोलिएका छन् । गत वर्ष सरकारले अवकाश लिने उमेर ६५ बाट बढाएर ७० वर्ष घोषणा गरेको छ । यो यदि कार्यान्वयनमा आयो भने जापानमा कामदारहरू संसारभरिमै सबभन्दा उच्च उमेरमा अवकाश लिनेमा पर्नेछन् । तर असन्तुलित जनसंख्याले विकासोन्मुख मुलुकहरूलाई पनि खतरामा पार्दैछ ।

af

चीनमा ६५ वर्ष माथिका मानिसको जनसंख्या जापानको तुलनामा कम छ । अर्थात् जम्मा १०.६ प्रतिशत । सन् १९७० मा कार्यान्वयनमा ल्याइएको बच्चाको जन्म नियन्त्रण कार्यक्रमका कारण त्यहाँका महिलाहरूको प्रजनन दर पनि कम नै छ । अर्थात् १.६ बच्चा प्रति महिला । पाँच वर्षमुनिका बच्चाको संख्या कुल जनसंख्याको छ प्रतिशत मात्र छ ।
बच्चाहरूको संख्या र जीवनको गुणस्तर
अफ्रिकी मुलुकहरू जन्मदरको सन्दर्भमा गुणस्तर र संख्याबीच रहेको अन्योलका राम्रा उदाहरण हुन् । त्यहाँ उच्च जन्मदर छ ।

pr

उदाहरणका लागि नीजेरमा सन् २०१७ मा प्रतिमहिला बालजन्मदर ७.२ छ । तसर्थ यसलाई विश्वको ‘सबैभन्दा उर्वर मुलुक’ मान्न सकिन्छ । तर यही मुलुकमा सबैभन्दा उच्च बालमृत्युदर पनि छ । नीजेरमा जन्मिएका १००० बच्चामध्ये ८५ को मृत्यु हुने गरेको छ ।

स्थिर राख्नका लागि आवश्यक दर

जनसङ्ख्याको हिसाबले २.१ विशेष अङ्क हो । जनसंख्याविद्हरूका अनुसार जनसंख्या स्थिर राख्नका लागि जन्मदर २.१ कायम हुनुपर्छ । तर संयुक्त राष्ट्र सङ्घको सबैभन्दा पछिल्लो तथ्याङ्कले संसारका आधाभन्दा केही बढी अर्थात् ११३ मुलुकले मात्रै त्यो जन्मदर कायम राखेका छन् । अनुसन्धानकर्ताहरूले उच्च बालमृत्युदर भएका र कम औसत आयु भएका देशहरूमा जन्म दर २.३ आवश्यक पर्ने र अहिले त्यस्तो दर ९९ देशमा मात्र रहेको बताइन्छ ।

यसरी जन्मदर घटेपछि धेरै मुलुकहरूको जनसंख्या उल्लेख्य रूपमा घट्दै जानेछ । त्यसो भए पनि संसारको जनसंख्या भने बढ्दै जानेछ जुन सन् २०२४ सम्ममा आठ अर्ब पुग्ने अनुमान गरिएको छ । नराम्रो जन्मदर भएको मुलुकमध्ये रुस पनि एक हो ।

प्रतिमहिला जम्मा १.७५ मात्र जन्मदर भएकाले त्यहाँको जनसंख्या आउँदा दशकमा निकै घट्ने ठानिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसंख्या निकायले अहिलेको अवस्था कायम रहिरहे सन् २०५० सम्ममा रुसी जनसंख्या १४ करोड ३० लाखबाट घटेर १३ करोड २० लाखमा पुग्ने अनुमान लगाएको छ ।

आर्थिक असर
घट्दो जन्मदर र वृद्धवृद्धाको बढ्दो सङ्ख्या हुनुको अर्थ काम गर्न सक्ने मानिसहरूको संख्या कम हुनु हो । यसबाट आर्थिक उत्पादकत्व घट्नेछ जसले अन्ततः आर्थिक वृद्धिदरलाई नकारात्मक असर पार्नेछ ।

gp

गत नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी ४० वर्षमा जापानको बढ्दो वृद्धहरूको संख्याका कारण जापानको अर्थतन्त्र २५ प्रतिशत भन्दा बढीले खुम्चिन सक्ने चेतावनी दिएको छ । ‘जनसंख्याले हाम्रो जीवनको हरेक पक्षलाई असर गर्नेछ । आफ्नो घरको झ्यालबाट सडकमा हिँडिरहेका मानिसहरू, घर, ट्राफिक, उपभोग हेर्दा सबै नै जनसंख्याबाटै परिचालित देखिन्छन्, ‘अक्सफोर्ड इन्स्टिट्युट अफ पपुलेशन एजिङका जर्ज लिसनले बताए ।

नीति र राजनीति
एउटा कुरामा भने सर्वसम्मति छ–वृद्ध जनसंख्याको ‘टाइम बम’ लाई सरकारहरूले निस्क्रिय पार्नु पर्नेछ र उनीहरूले त्यो प्रयत्न गरिरहेका पनि छन् । चीनले उसको ‘एक बच्चा नीति’ सन् २०१५ मा समीक्षा गरेर परिवर्तन गर्‍यो र सन् २०१८ मा अर्को वर्ष सम्ममा जन्मदरमा लगाइएको प्रतिबन्ध नै अन्त्य गर्ने सङ्केत गरेको छ ।

राज्यद्वारा सञ्चालित पत्रिका द पीपल्ज डेलीमा प्रकाशित एउटा लेखमा बच्चा जन्माउनु परिवार र राष्ट्र दुवैको चासोको विषय भएको उल्लेख छ । चीनमा बच्चा जन्माउनमा लगाइएको कडाइ खुकुलो गरेर खासै समस्या समाधान भने भएको छैन । सन् २०१८ मा चीनमा १५ करोड दुई लाख जन्म भएको छ जुन ६० वर्षमा पहिलो पटक सबभन्दा न्यून संख्या हो ।

japan

चिनियाँ प्राज्ञहरूले जन्मदर घट्नुको कारण प्रजनन गर्न सक्ने महिलाको संख्या घट्नु र परिवारहरूले आर्थिक अवस्थाका कारण बच्चा जन्माउने योजना स्थगित गर्नु र पढे लेखेका महिलाहरूले परम्परागत रूपमा महिलाहरूले गर्दै आएको स्याहार सुसारको जिम्मा लिन मन नगर्नु आदि हुनसक्ने बताएका छन् ।

बढ्दो उमेर र शक्ति

जनसंख्याविद्हरू वृद्ध बन्दै जाने जनसंख्याको प्रभाव कम गर्न वृद्धहरूको स्वास्थ्य क्षेत्रमा काम गर्ने नीतिहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ भन्छन् । यसको मुख्य तर्क हो–मानिसहरू स्वस्थ्य रहे भने उनीहरू लामो समयसम्म र सशक्त भएर काम गर्न सक्छन् जसले गर्दा स्वास्थ्य सेवाको मूल्य कम हुन सक्छ । तर विश्वव्यापी रूपमा हेर्दा महिलाहरूको श्रम बजारमा उपलब्धता ४८.५ प्रतिशत रहेको छ जुन पुरुषहरूको तुलनामा २५ प्रतिशतले कम हो ।

men

‘महिलाहरूको कार्यक्षेत्रमा संख्या धेरै भएको अर्थतन्त्रमा वृद्धिदर खस्कने कम देखिएको छ । महिला कामदारहरू धेरै भएका ठाउँमा आर्थिक सङ्कट परेका बेला पनि अर्थतन्त्र धरमराउँदैन । धेरै महिलाहरू काममा भएका ठाउँमा उनीहरू गरिबी कम गर्ने सशक्त माध्यम पनि हुन पुग्छन्, ‘आईएलओका अर्थशास्त्री एकहर्ड अर्न्स्टको भनाइ छ । तर समय घर्कदैछ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७