सशस्त्रमा गुणस्तरहीन सामान खरिदः तीन महिनामै खुइलियो चुस्ता


१७ बैशाख २०७६, मंगलवार
apf chusta

काठमाडौं, १७ बैशाख । सशस्त्र प्रहरीको सामान खरिदमा अनियमितता हुने गरेको छ । सशस्त्र प्रहरीले एक बर्षअघि टेण्डर गरी खरिद गरेको ४० हजार सेट चुस्ता अति कम गुणस्तरको भएको खुलासा भएको छ ।

उक्त चुस्ता पहिलो लटमा बुझाउँदा गुणस्तर तथा नापतौल विभागमा गुणस्तर टेष्ट गरिएको थियो । तर त्यसपछि दोस्रो तेस्रो लट बुझाउने क्रममा गुणस्तर टेष्ट नै नगरी बुझाइएको थियो । जबकि हरेक लटमा सामान बुझाउँदा गुणस्तर परीक्षण गर्नुपर्छ । तर ठेकेदार इन्द्र श्रेष्ठ र मित्र लामाले गुणस्तर विभाग र सशस्त्रका हाकिमलाई सेटिङ गरी पहिलो लटमा गुणस्तर परीक्षण गराए । पछिल्लो लटमा बुझाएका सामान टेष्ट नै नगरी बुझाए । जुन अति गुणस्तरहीन भएको स्रोतले बताएको छ । पहिलो लटमा बुझाइएको चुस्ता गुणस्तर टेष्ट गरिएकाले त्यति गुणस्तरहीन नभएको तर पछि बुझाइएका चुस्ता सेट लगाएको ३ महिनामै खुइलिएको स्रोतले बताएको छ ।

केन्द्रबाट प्रदेशमा निरीक्षणमा गएका सशस्त्रका उच्च अधिकारीलाई सिपाहीहरुले ३ महिनामै चुस्ता खुइलिएको गुनासो गरेका छन् । चुस्ताको ठेक्का समृद्धि ट्रेड इन्टरनेशनल, न्यू आइके इन्टरप्राइजेज, मित्रता बिजनेश प्रालिले पाएका थिए । ठेकेदार श्रेष्ठ र लामाले गुणस्तर विभागका केमिकल इन्जीनीयर सुशील साह र अर्का अधिकृत किरण सुवेदीमार्फत् एकपटक टेष्ट भइसकेकाले पुनः टेष्ट गर्नुनपर्ने भनेर गराएनन् । र, विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई पनि साह र सुवेदीले गुमराहमा पारेको बताइएको छ । सिंहबहादुर श्रेष्ठ सशस्त्रको आइजीपी हुँदा २०७४ माघमा टेण्डर गरी फागुन १६ मा टेण्डर स्वीकृत गरी आसयपत्र दिइसकेपछि रद्द गरिएको थियो । चुस्ता, डीएमएस बुट, झुल, स्लीपीङ ब्याग, ब्यारेट क्याप सहित १६ किसिमका सामान आसयपत्र जारी गरिसकेपछि टेण्डर रद्द गरिएको थियो । उक्त टेण्डर रद्द भइसकेपछि ठेकेदारहरु सार्वजनिक खरिद अनुगमन कार्यालयमा निवेदन लिएर गए ।

अनुगमन कार्यालयमा पुनरावेदन अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा रहेको पुनरावलोकन समितिले आसयपत्र दिइसकेपछि टेण्डर रद्द गर्न नपाउने भन्दै सामान खरिद गर्न आदेश दिएको थियो । जुन आदेशपछि सशस्त्रमा ठेकेदारहरुले सामान बुझाएका थिए । सिंहबहादुर श्रेष्ठले विद्युतीय खरिद निर्देशिका अनुसार इ टेण्डर नगरेको भनेर समाचार आएकै भरमा टेण्डर रद्द गरेका थिए । उनी गएपछि खनाल आइजीपी भए । ४० करोडको टेण्डरमा १० प्रतिशतका दरले कमिसन पनि खनालहरुकै पोल्टामा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७