पर्यटकका लागि विद्युतीय बसको व्यवस्था


१८ बैशाख २०७६, बुधबार
electracty bus no used

ललितपुर, १८ बैसाख । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सन्चालनमा ल्याउने भएको छ ।

महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुन–कुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ । यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो ।

भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सन्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् ।

उनकाअनुसार बस सन्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ । उनले भने–‘बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

पुल्चोकबाट मंगलबजार र पाटनढोकाबाट मंगलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए । पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए ।

उनले भने–‘अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ ।’ महानगरले साझाको रु एक करोडको सेयर खरिद गरेर विभिन्न रुटमा बस सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७